समाचार रोक्न दबाब दिएको घटना प्रति पत्रकार संगठनको ध्यानाकर्षण
Friday, April 5th, 2024, 6:46 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २४ चैत
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीलाई समाचार प्रकाशनको बिषयमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एवं प्रहरी उपरीक्षक सुवास बोहराले दिएको धम्कीप्रति बाँकेमा क्रियाशिल पत्रकारहरुका संगठनले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
शुक्रबार संयुक्त रुपमा विज्ञप्ती सार्वजनिक गर्दै समाचारको विषयलाई लिएर पत्रकारमाथि दबाब सृजना गर्नु गैरजिम्मेवारी पुर्ण कार्य भएको भन्दैं त्यस्ता क्रियाकलाप तत्काल रोक्न पत्रकारहरुका संगठनले सम्बन्धित निकायलाई सचेत गराएका छन् ।
आफुसँग सम्बन्धित समाचार प्रकाशित भएको बिषयमा प्रहरी उपरीक्षक बोहराले सद्भाव दैनिक पत्रिका र सेतोखरी अनलाईनका सम्पादक भण्डारीलाई समाचार रोक्न दबाब दिनु भएको थियो । कानून कार्यान्वयन गर्ने जिम्मेवार पदमा आसिन व्यक्तिले आफ्नो पदीय मर्यादा र जवाफदेहिता बिर्सिएर समाचारको विषयलाई लिएर पत्रकारलाई हतोत्साहित गर्ने र आतङ्कित पार्ने कार्यको हामी कडा शब्दमा भत्सर्ना गरेको संगठनका प्रमुखहरुले बताउनु भएको छ ।
सम्प्रेषित समाचारप्रति चित्त नबुझे या कुनै गुनासो भए त्यसउपर कानूनी उपचारमा जान सकिने स्थापित पद्धति र प्रावधान छ । त्यसलाई बेवास्ता गर्दै बोहराले पत्रकारलाई धम्की दिनु प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार हो । पत्रकारलाई हतोत्साहित र आतंकित पार्ने यस्तो धम्कीको कडा शब्दमा निन्दा गरिएको छ ।
समाचार प्रकाशनका बिषयलाई लिएर दादागिरी शैलीमा पत्रकार धम्क्याउने प्रहरी उपरीक्षक बोहरालाई तत्काल कारबाही गर्न र यसरी पछिल्लो समय बाँकेमा पत्रकारमाथि निरन्तर भइरहेको आक्रमणका सम्बन्धमा आधिकारिक धारणा सार्वजनिक गर्न स्थानीय प्रशासन एवं सरकारसँग जोडदार माग समेत विज्ञप्तीमा गरिएको छ ।
शुक्रबार बसेको बैठकपछि नेपाल प्रेस युनियन बाँके अध्यक्ष प्रियास्मृति ढकाल, प्रेस चौतारी नेपाल बाँके अध्यक्ष दुर्गा रोकाय, प्रेस सेन्टर नेपाल बाँके अध्यक्ष राजेश आचार्य र प्रगतिशील पत्रकार संघ बाँके संयोजक तिलक गाउँलेले संयुक्त रुपमा हस्ताक्षर गर्दै विज्ञप्त जारी गर्नु भएको छ ।