माइती नेपालले मनायो ३२औं स्थापना दिवस
Sunday, April 7th, 2024, 9:06 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २५ चैत
माइती नेपालको ३२ औं स्थापना दिवस मनाइएको छ । आइतबार नेपालगन्जमा ‘हाम्रो आवाज चेलिबेटी बेचबिखनबाट मुक्त समाज’ भन्ने मूल नाराका साथ माइती नेपालको स्थापना दिवस मनाइएको हो ।
माइती नेपालले मानव बेचबिखन तथा ओसारपसार विरुद्ध नेपाल–भारत सिमा जमुनाहा नाकामा सामुहिक प्रतिबद्धता यात्रासहित पोष्टर पम्पलेट टाँस्नुका साथै नाकामा आवागमन गर्नेलाई पम्पलेट वितरण गर्दै ब्यानर प्रदर्शन गरेर स्थापना दिवस मनाएको छ ।
पश्चिम नेपालकै सबैभन्दा ठुलो र मानवबेचबिखनका लागि अत्यधिक जोखिमपूर्ण मानिने यो नाकामा विशेष सचेतनामूलक अभियान सञ्चालन गरिएको माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले बताउनुभयो ।
स्थापनाकालदेखि नै सयौं नेपाली चेलीलाई बिक्री हुनबाट यसै नाकाबाट जोगाइएको जनाउँदै नाकामा सतर्कता निकै बढाइएको कोइरालाले बताउनुभयो ।
यसैगरी कोहलपुर नगरपालिका वडा नम्बर १ कौशिलानगरमा चेतनामूलक सडक नाटक ‘भूल’ प्रर्दशन गरिएको छ । सडक नाटकमार्फत दलालहरुले के कस्ता तरिका अपनाई महिला तथा बालबालिकालाई झुक्याउने गरेका छन र त्यस्ता दलालबाट कसरी बच्ने भन्ने जानकारी गराउँदै स्थानीय सरकार एवं स्थानीय समुदायको भूमिका प्रष्ट्याइएको थियो । कोहलपुरस्थित समाज सेवा संस्थाका अध्यक्ष विनोद थापाको अगुवाइमा सो नाटकमा प्रदर्शन भएको थियो ।
नाटकको समापन कार्यक्रममा कोहलपुर—१ वडा अध्यक्ष बद्रीप्रसाद जैसीले मानव बेचबिखन विभिन्न माध्यमबाट दलालहरुले गरिरहेको हुँदा हामी सबै सचेत भई यसविरुद्ध लाग्नुपर्ने बताउनु भयो ।
माइती नेपाल नेपालगन्जका संयोजक कोइरालाले मानव बेचबिखन सबैको साझा समस्या भएकोले यसका विरुद्व सबैको संयुक्त सक्रियता आवश्यक रहेको बताउनुभयो ।
माइती नेपालले समुदायस्तरसम्म स्थानीय विद्यार्थी, युवा, अभिभावक समेतको समूह गठन गरि थप सशक्तीकरण गरि परिचालन, सरकारी तथा गैर सरकारी निकायहरु समेतको दायित्वबोध एवम् क्रियाशीलतामा वृद्वि, अन्तरदेशीय संयन्त्र निर्माण एवं परिचालन गर्दै मानव बेचबिखनविरुद्ध निर्मित ऐन नियमहरु समेतको आवश्यकता अनुसार परिमार्जन भएका ऐन नियमको प्रभावकारी कार्यान्वयनका लागि वकालत गर्नेलगायतका कार्यक्रम गर्दै आएको छ ।

………..
संस्थाले मानव बेचबिखन रोकथामका लागि जनचेतनामूलक कार्यक्रमहरु समुदायस्तरसम्म सञ्चालन गर्नुका साथै नेपालका विभिन्न नाकामा सूचना तथा परामर्श केन्द्र स्थापना गरि जोखिमपूर्ण यात्रामा रहेका महिला बालबालिकाहरुको उद्धार, भारत लगायतका देशहरुमा यौन एवम् श्रम शोषणमा परेका महिला बालबालिकाहरुको उद्धार, आवासीय सेवा, मनोसामाजिक परामर्श, कानुनी सहायता, स्वास्थ्य सेवा प्रदान गर्दै सीपमूलक तालिम, परिवार र समाजमा पुनर्मिलनका कार्य गर्दै आएको संयोजक कोइरालाले बताउनु भयो ।

…………..

………….