पशु चौपायामाथिको दुर्व्यवहार बढदैं गएको प्रति चिन्ता
Monday, April 8th, 2024, 9:25 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २६ चैत
नेपालमा पशु कल्याण ऐन नभएका कारण पशु चौपायामाथि दुर्व्यवहार बढेको सरोकारवालाले बताउनु भएको छ । डेरी पशुको लागि पशु कल्याण मापदण्ड कार्यान्वयन सम्बन्धि मिडिया ब्रिफिङ तथा जानकारी विषयक कार्यक्रममा बोल्ने वक्ताहरुले ऐनको अभावमा पशुमाथिको ज्यादती बढेको बताउनु भएको हो ।
सरोकारवालाहरुले पशु कल्याण ऐन नआउँदा सम्मका लागि पशु कल्याण मापदण्ड बनाएर जानुको विकल्प नभएको बताउनु भएको छ ।
नेपालगन्जमा भएको कार्यक्रममा सहभागि हुनु भएका वक्ताहरुले भारतमा १९५४ मा नै र चीनमा त्यस अघि नै पशु कल्याण ऐन बनेपनि नेपालमा त्यस सम्बन्धि ऐन बन्न नसकेको गुनासो गर्नु भयो । नेपालमा बिभिन्न चाडपर्वमा सांस्कृतिकरुपमा पशुपंछिहरुको पुजा गरिएपनि पशुहरु प्रतिको व्यवहार राम्रो नभएको उनीहरुको भनाई थियो । लाभ प्राप्त हुँदा सम्म पशु प्यारो हुने र लाभ दिन नसक्दा पशुलाई सडकमा छाडीने गरेको सहभागीहरुले बताए ।
कार्यक्रममा बोल्दै पशु सेवा बिभागका पूर्व महानिर्देशक तथा नेपाल फार्मर एडभाइजरी काउन्सिल प्रालीका प्रबन्ध निर्देशक डा. बिमल कुमार निर्मलले नेपालमा पशु कल्याणको लागि बनाईएका भनिएका गौशालाहरु पशु कल्याण मैत्री नभएको बताउनु भयो । उहाँले मापदण्ड कार्यान्वयनबाट मात्र पनि धेरै मात्रामा पशुमाथिको दुर्व्यवहार नियन्त्रण गर्न सकिने उल्लेख गर्दै ७ वटै प्रदेशमा पशु कल्याण मापदण्ड कार्यान्वयको चरणमा रहेको जानकारी दिनु भयो ।
पशु कल्याण सम्बन्धि कार्य गर्दै आएको स्नेहाज केयरकी अध्यक्ष स्नेहा श्रेष्ठले पशुहरुलाई भोक, प्यास र कुपोषण हुन नदिनु अहिलेको पहिलो आवश्यकता भएको बताउनु भयो ।
उहाँले पशुलाई डर, त्रास र तनावबाट मुक्त गर्नु पर्ने, पीडा, चोटपटक र रोगब्याधीबाट सुरक्षित राख्नु पर्ने उल्लेख गर्नु भयो । पशु कल्याण मापदण्डले सामान्य प्रकृतिक व्यवहार अभिव्यक्त गरि पशुको बाँच्न पाउने अधिकारलाई सम्बोधन गरेको भनाई थियो ।
लुम्बिनी प्रदेश पशु सेवा निर्देशनालयका निमित्त निर्देशक प्रदेशसिंह कुँवरले जनशक्तिको अभावमा पशुहरुमा सरकारी सेवा पुग्न नसकेको बताउनु भयो । ३ जना प्राबिधिकले ५ हजार पशुको सेवा दिनु पर्ने अवस्था रहेको भन्दै प्रदेशमा पशु कल्याण मापदण्ड कार्यान्वयन गर्न निर्देशनालय सकारात्मक रहेको उहाँले बताउनु भयो ।