६० हजार धरौटीमा छुटे चिट चोराउने प्रिन्सिपल र शिक्षक
Wednesday, April 10th, 2024, 11:51 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २८ चैत
बाँकेमा एसइई परीक्षामा विद्यार्थीलाई चिट चोराउने र प्रश्नपत्र आउट गर्ने प्रिन्सिपल र शिक्षक धरौटीमा छुटेका छन् । नेपालगनन्जस्थित लोटस इंग्लिस मिडियम हाइस्कुलका प्रिन्सिपल तपन शर्मा र शिक्षक मोहम्मद अल्ताफ खानलाई बाँके प्रशासनले ६०÷६० हजार धरौटीमा रिहा गरेको हो ।
चैत १४ देखि सञ्चालन भएको एसइई परीक्षामा उक्त विद्यालयको परीक्षा केन्द्र नेपालगञ्जस्थित ज्ञानोदय विद्या निकेतन स्कुल तोकिएको थियो । चैत २० गते विज्ञान विषयको परीक्षामा ह्वाट्सएप ग्रुप बनाएर प्रश्न पत्र आउट गरेको तथा चिट चोराएको सुराकका आधारमा बाँके प्रशासनले एवान कन्सल्टेन्सीमा छापा मारेको थियो ।
उक्त कन्सल्टेन्सीले प्रश्नहरूको उत्तर तयार पारी ह्वाट्सएप ग्रुपमा पठाउने गरेको भेटिएपछि त्यहाँबाट प्रहरीले इरफान अली मिकरानी, सन्तोष नेपाली र दिलिप विकलाई पक्राउ गरेको थियो । पक्राउ परेका पाँच जनामध्ये एक नाबालक भएकाले बाल इजलासमा पठाउने र ४ जनालाई धरौटीमा छाडि मुद्दा अगाडि बढाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिए ।
कन्सल्टेन्सीबाट पक्राउ परेका तीनमध्ये २ जनालाई ३०÷३० हजार धरौटीमा छाडिएको छ । ‘हाललाई धरौटीमा छाड्ने निर्णय भएको हो । थप प्रमाण बुझेपछि फैसला हुन्छ,’ प्रजिअ पोखरेलले भने । उनीहरूविरूद्ध शिक्षा ऐनअनुसार परीक्षामा मर्यादाविपरीत कार्य गरेको कसुरमा मुद्दा अगाडि बढाइएको प्रजिअ पोखरेलले बताए । उक्त कसुरमा ६ महिना कैद वा १ लाख जरिवाना वा दुवै सजाय हुन सक्नेछ ।