बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
Wednesday, April 10th, 2024, 12:00 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
दाङ, २८ चैत
दाङमा यात्रु बहाक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । घोराही–लमही सडक खण्डअन्तर्गत घोराही उप–महानगरपालिका–१७ बेलभारस्थित तुलसीपुरबाट काठमाडौ जाँदै गरेको तुलसीपुर यातायात प्रालिको ना६ख १४८६ नम्बरको बसले गोग्लीबाट घोराहीतर्फ आउँदै गरेको लु४१प ८०९२ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते मोटरसाइकल चालक घोराही उप–महानगरपालिका–१७ निवासी २३ वर्षीय सौगात वलीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ । यसैगरी दुर्घटनामा मोटरसाइकलमा सवार तुलसीपुर उप–महानगरपालिका–११ निवासी ३५ वर्षीय शरद लामिछाने गम्भीर घाइते भएका छन् ।
लामिछानेको दाहिने खुट्टालगायतका ठाउँमा चोट लागेको र अहिले घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । प्रहरीले बस चालक तुलसीपुर उप–महानगरपालिका–७ निवासी २९ वर्षीय राजेश परियारलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख किरणप्रकाश मल्लले जानकारी दिनुभएको छ ।