वायु प्रदूषणको सूचीमा विश्वकै पहिलो नम्बरमा नेपाल
Wednesday, April 10th, 2024, 12:49 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, २८ चैत
नेपालको वायु प्रदूषण दिल्लीको भन्दा पनि खराब देखिएको छ । सिंगापुरले मापन गरेको वायु शुद्धता सूचकांक (एक्युआइ) अनुसार खराब हावाको सूचीमा नेपाल पहिलो नम्बरमा छ । सिंगापुरले रियल टाइममा वायुको गुणस्तर मापन गर्ने गर्छ । जसअनुसार नेपालको एक्युआइ २४७ रहेको छ। जुन निकै घातक हो । एक्युआइ अनुसार सय अंकभन्दा माथिलाई घातक प्रदूषित हावा मानिन्छ ।
बुधबार बिहान ९ः०१ बजेको तथ्यांकअनुसार भारतको नयाँ दिल्लीको एक्युआइ २०३ रहेको छ । तेस्रो नम्बरमा रहेको पाकिस्तानको लाहोर सहरको प्रदूषणको अवस्था १९८ छ । चौथो नम्बरमा रहेको बंगलादेशको राजधानी ढाकाको एक्युआइ १८३ छ ।
एक्युआइअनुसार ललितपुरको खुमलटार क्षेत्रको हावा निकै विषाक्त देखिएको छ । बुधबार बिहान मापन गरिएको सूचांकअनुसार त्यहाँको एक्युआइ २३६.९७ छ । काठमाडौंको रत्नपार्क क्षेत्रको वायु प्रदूषणको अवस्था १९८.८७, कीर्तिपुर क्षेत्रको १८५.८२, भक्तपुरको एक्युआइ १८४.२१ छ ।
पछिल्लो एक साताको अवधिमा ३० जिल्लामा डढेलो फैलिएको छ । विगत एक साताको अवधिमा ११२ स्थानमा डढेलो लागेको छ । जसका कारण वायुमण्डलमा धुवाँ र धुलोको फैलावट बढेको र वायु प्रदूषित हुन पुगेको वातावरण विभागका प्रवक्ता तारादत्त भट्टले जानकारी दिए ।