चन्द्रज्योति र न्यु डाँफे सेमिफाइनलमा प्रवेश
Wednesday, April 10th, 2024, 8:21 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, २८ चैत
चन्द्रज्योति युवा क्लब र न्यु डाँफे स्पोर्टस क्लब दोस्रो डम्बर रानाभाट स्मृति फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छन् ।
बुधबार भएको पहिलो खेलमा चन्द्रज्योति युवा क्लबले शान्ति स्पोर्टस क्लबलाई २–० ले हरायो । चन्द्रज्योतिका लागि दुबै गोल पेनाल्टी मार्फत राम ओलीले गर्नु भएको थियो ।
यसैगरी अर्को खेलमा न्यु डाँफे स्पोर्टस क्लबले आयोजक हिमालय सामुदायिक क्लब ‘बी’ लाई ३–१ ले पराजित गरेको छ । न्यु डाँफेका लागि सुदिप क्षेत्रीले २ गोल र सचिव विश्वकर्माले १ गोल गर्नु भयो । आयोजकको तर्फबाट विशाल बहादुर मगरले १ गोल गर्नु भएको थियो ।
आयोजक हिमालय सामुदायिक क्लबका अध्यक्ष किरण थापाका अनुसार बिहिबार प्रतियोगिताको दुबै सेमिफाइनल खेलहरु हुनेछन् । दिउँसो २ बजे हुने पहिलो सेमिफाइनल खेलमा न्यु डाँफे र जिल्ला प्रहरी कार्यालय बाँके टिमबिच हुनेछ ।
दोस्रो सेमिफाइनल खेल ४ बजे आयोजक हिमालय सामुदायिक क्लब ‘ए’ र चन्द्रज्योति युवा क्लबबिच प्रतिस्पर्धा हुनेछ ।
हिमालय सामुदायिक क्लबको आयोजनामा भैरहेको प्रतियोगिताको फाइनल खेल चैत ३० गते हुनेछ ।
जनयुद्धका सहिद हुनु भएका डम्बर रानाभाटको स्मृतिमा स्थानीय युवाहरुले प्रतियोगिताको आयोजना गरेका हुन । प्रतियोगितामा बाँके जिल्ला भित्रका १४ टोलीको सहभागिता रहेको छ ।

…………..
प्रतियोगितामा प्रथम हुने टिमले ५५ हजार ५ सय ५५ रुपैयाँ मेडल र प्रमाण पत्र र दोस्रो हुनेलाई ३० हजार ५सय ५५ मेडल र प्रमाणपत्र पाउने आयोजक हिमालय सामुदायिक क्लबका सचिव जीवन कार्कीले बताउनु भयो ।