अरबी खानको हत्यारा को ?
Thursday, April 11th, 2024, 9:30 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २८ चैत
यहि चैत्र १८ गते नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर–२१ विर्तामा एक युवकको घाँटीमा धारिलो हतियार प्रहार गरेर हत्या गरिन्छ । घटना भएको अघिल्लो दिन थाहा पाएको प्रहरीले आजसम्म को हत्यारा भन्ने पत्ता लगाउन सकेको छैन ।
गत आइतबार हत्या भएको अवस्थामा खान मृत फेला परेका थिए । त्यतिबेला उनीहरूको समुदायको रोजा चलिरहेको थियो । घरबाट झन्डै एक डेढ किलोमिटर पर खेतमा मृत भेटिएका खानको घाँटीमा धारिलो हतियार प्रहार गरेको पाइएको थियो ।
त्यसपछी २२ वर्षीय अरबी खानको हत्या भएको एक साता बितिसक्दा पनि क्लू नभेटेपछि बाँके प्रहरी अनुसन्धानका लागि सिआइबी बोलाएको थियो । प्रहरीले नजिककै मानिसहरूबाट खानको हत्या भएको हुनसक्ने आकलन गरेको छ । तर दर्जनौंसँग सोधपुछ गर्दा पनि सुराक नभेटिएपछि घटना जटिल बन्दै गएको हो ।
घरपरिवार र स्थानीयसँग सोधपुछ गर्दा खानको नकारात्मक पृष्टभूमी पनि नभेटिएको प्रहरीले जनाएको छ । अरबी नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ का पूर्व वडाअध्यक्ष रञ्जित खाँका नाती हुन् । नेपालगन्ज–२१ बिर्ता निवासी २२ वर्षीय युवक अरबी खाँको शव दश दिनपछि आफन्तले बुझेर अन्तिम संस्कार गरेका छन् । यही चैत १८ गते राती घाँटी रेटिएको अवस्थामा घर नजिक मृत भेटिएका खाँ को हत्यारा पत्ता नलागेकोले आफन्तले उनको शव बुझ्न मानेका थिएनन् ।
तर प्रहरीले तीव्र गतिमा अनुसन्धान गरेर हत्यारा पत्ता लगाउने प्रतिबद्धता गरेपछि आफन्तले बुधवार खाँको शव बुझेर ईस्लामी परम्परा अनुसार गाउँ नजिकको कब्रस्तानमा अन्तिम संस्कार गरेका हुन् । प्रहरीले अनुसन्धानको नाममा परिवारका सदस्यलाई झुक्याइरहेकोले हालसम्म शव नबुझेको मृतक अरबीका काका अब्दुल रहमान खाँले बताउनुभयो । उहाँले प्रहरीले अनुसन्धानलाई तीव्र पारेर छिट्टै हत्यारा पत्ता लगाउने प्रतिबद्धता जनाएपछि दश दिनपछि शव बुझेर अन्तिम संस्कार गरिएको बताउनुभयो ।
यसअघि प्रहरीले अनुसन्धान भइरहेको छ नआत्तिनुस् भनेर आश्वासन मात्रै दिँदै आएको परिवारको गुनासो छ । वास्तविक अपराधी पत्ता लगाउन र निर्दोषलाई नफसाउन परिवारजनले प्रहरीसँग आग्रह गर्दै आएका छन् । वास्तविक अपराधी छिट्टै पक्राउ नगरिए फेरी आन्दोलन गर्ने मृतकका हजुरबुवा पूर्व वडाध्यक्ष रञ्जित खाँले बताउनुभयो । उहाँले आक्रोशित हुँदै भन्नुभयो, ‘नातिको हत्यामा संलग्न व्यक्ति पक्राउ नपर्दासम्म चुप लागेर बस्नेछेनौँ ।’