नयाँ वर्षमा महामन्त्री गगन थापा बाँके आउँदैं
Thursday, April 11th, 2024, 1:16 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २९ चैत
नयाँ वर्षको पहिलो दिन नेपाली कांग्रेसका महामन्त्री एवम् पुर्व मन्त्री गगन थापाले बाँकेमा हुने विभिन्न कार्यक्रमलाई सम्बोधन गर्नु हुने भएको छ । हुलाकी राजमार्ग क्षेत्र केन्द्रित समुदायमा कांग्रेस अन्तर्गत ‘संवाद यात्रा’ को क्रममा महामन्त्री थापा बाँके आउन लाग्नु भएको हो ।
बैशाख १ गते र २ गते हुने कार्यक्रमको व्यवस्थापनको लागि नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ र ३ सक्रिय भएर लागेका छन् । बैशाख १ गते दिउँसो २ बजे डुडुवा गाउँपालिका–५ कम्दीस्थित मिलनचोक र ४ बजे नेपालगन्जको त्रिभुवन चोकमा संवाद यात्रा तय भएको नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर २ सभापति रमेश कुमार गुप्ताले बताउनु भयो ।
बैशाख २ गते साझ पार्टी कार्यालयमा कार्यकर्तासँग भेटघाट कार्यक्रम रहेको गुप्ताले पत्रकार सम्मेलनमा जानकारी गराउनु भयो । यसैगरी वैशाख २ गते विहान उद्योगी व्यवसायीसँग भेटघाट र क्षेत्र नम्बर ३ खजुरामा कार्यक्रम रहेको नेपाली कांग्रेस क्षेत्र नम्बर ३ सभापति मो. नक्की खाँले बताउनु भयो । दिउँसो सुशील कोइराला क्यान्सर अस्पताल अवलोकन गर्ने कार्यक्रम तय भएको छ । बिहिबार नेपाली कांग्रेसको पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य मैकुलाल वाल्मिकीले महामन्त्री कार्यक्रमले जनतामा नयाँ उत्साह थपेको बताउनु भयो ।
उहाँले महामन्त्री थापाले २०४७ यता नेतृत्वमा पुगेका प्रधानमन्त्री, मन्त्री र नेताहरुको सम्पक्ति छानविन गर्नु पर्ने माग गर्नु भएको कुरा अत्यन्त महत्वपुर्ण भएको बताउनु भयो । देश भ्रष्टाचार कारण कमजोर भैरहेको बेला नेपाली कांग्रेस उठान गरेको यो मागले नेपाली समाजलाई सकारात्मक र सुशासनको मार्गमा लग्ने वाल्मिकीले बताउनु भयो । बिहिबार भएको पत्रकार सम्मेलनमा नेपाली कांग्रेस बाँकेका कार्यबहाक सभापति गोपाल अधिकारी, सचिव सुधान्सु कोइराला, पत्रकारहरुको लगायतको उपस्थिती रहेको थियो ।