एटीएममा पर्याप्त पैसा राख्नू, विद्युतीय कारोबार बढाउनू ः राष्ट्र बैंक
Wednesday, August 19th, 2020, 7:39 pm
amit
काठमाडौ, ३ भदौ । बैंक तथा वित्तीय संस्थाहरूलाई एटीएम मेसिनहरूमा पर्याप्त नगद राख्न र विद्युतीय माध्यमबाट कारोबार गर्ने व्यवस्था मिलाउन नेपाल राष्ट्र बैंकले सूचना जारी गरेको छ ।
राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार विद्युतीय माध्यमबाट हुने कारोबारको सुनिश्चितता मिलाउन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिइएको छ ।
यसैगरी केन्द्रीय बैंकले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि स्थानीय प्रशासनले काठमाडौमा निषेधाज्ञा जारी गरेकोले सम्भव भएसम्म विद्युतीय माध्यमबाट बैंकिङ कारोबार हुने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार बैंक तथा वित्तीय संस्थाहरूले एटीएममा राखिएको पैसाको प्रभावकारीरूपमा निगरानीको व्यवस्था मिलाउनु पर्नेछ भने सम्बन्धित स्थानीय प्रशासनसँग समन्वय गरी सम्भव भएसम्म निश्चित समयसम्मका लागि आलोपालो मिलाई निश्चित कर्मचारीबाट मात्रै काम गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।
त्यसैगरी, अत्यावश्यक वस्तुको आपूर्ति सुनिश्चित गर्न ड्राफ्ट, टीटी, प्रतीतपत्र, ग्यारेन्टीजस्ता कारोबार हुने व्यवस्था मिलाउन पनि केन्द्रीय बैंकले निर्देशन दिएको छ ।
बैंक तथा वित्तीय संस्थाहरूलाई निषेधाज्ञाको अवस्थामा सम्बन्धित स्थानीय प्रशासनसँग समन्वय गरी सम्भव भएसम्म निश्चित समयका लागि आलोपालो मिलाई न्यूनतम कर्मचारीबाट न्यूनतम संख्यामा शाखा खोली आधारभूत बैंकिङ कारोबार सुचारू गर्ने व्यवस्था मिलाउन पनि केन्द्रीय बैंकले निर्देशन दिएको छ ।