निषेधाज्ञामा बैंकका कर्मचारीलाई रोकेर दुःख दिएको भन्दै आज बैंकका शाखा नखोल्ने बैंकर्स संघको निर्णय
Thursday, August 20th, 2020, 11:12 am
amit
काठमाडौ, ४ भदौ । निषेधाज्ञामा प्रहरीले बैंकका कर्मचारीहरुलाई समेत रोकेपछि नेपाल बैंकर्स संघले आज बैंकका शाखा नखोल्न निर्देशन दिएको छ ।
नेपाल बैंकर्स संघका अध्यक्ष भुवन कुमार दाहालका अनुसार प्रहरीले बैंकका कर्मचारीलाई दुःख दिएको हुनाले आज बैंक नखोल्न निर्देशन दिइएको हो ।
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा पालना गराउन सडकमा खटिएका नेपाल प्रहरी र ट्राफिक प्रहरीले ठाउँठाउँमा बैंकका कर्मचारीहरुलाई रोकेका छन् भने बैंकका सीईओलाई समेत बाटैमा रोकिएको बैंकर्सहरुले बताएका छन् ।
हिजो सीडीओसँग समन्वय गरी हरेक बैंकका काठमाडौंमा पाँच वटा, भक्तपुरमा १ वटा र ललितपुरमा २ वटा गरी आठ वटा शाखा खोल्ने सहमति भएको दाहालले बताएका छन् ।
त्यस्तै बैंकका कर्मचारीलाई बैंककै परिचयपत्र देखाएर आउजाउ गर्न दिने भनिएता पनि आज बिहान बैंक खोल्न जान लागेकाहरुलाई पनि रोकेका उनले बताएका छन् ।
ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकालका अनुसार आफूहरुले माथिको आदेश बमोजिम काम गरिरहेको र बैंकका सीईओलगायतको गुनासो आएपछि सहजीकरण गरिरहेको छ । माथिको आदेश बमोजिम काम गर्ने भएकाले अस्पष्ट भएका केही विषयमा माथिल्लो निकायसंग समन्वय गरिने उनले बताएका छन् ।