उपत्यकामा जारी निषेधाज्ञा उल्लङ्घन गर्दै हिड्ने ४३० जना होल्डमा, २४२ गाडी नियन्त्रणमा
Thursday, August 20th, 2020, 12:07 pm
amit
काठमाण्डौ, ४ भदौ । बिहिबार (आज) काठमाण्डौ उपत्यकामा जारी निषेधाज्ञा उल्लङ्घन गर्ने ४ सय ३० जनालाई प्रहरीले होल्ड गरेको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुबेर सिंह कठायतका अनुसार गएराति १२ बजेदेखि नै निषेधाज्ञा लागू भएकाले अति आवश्यक काम नपरी निस्किएका ४ सय ३० जनालाई होल्ड गरिएको हो ।
सबैभन्दा धेरै काठमाण्डौमा १ सय ७ पुरुष र ८८ जना महिला गरी १ सय ९५ जना, ललितपुरमा १ सय १ पुरुष र ४९ जना महिला गरी १ सय ५० जना र भक्तपुरमा ६५ जना पुरुष र २० जना महिला गरी ८५ जनालाई होल्ड गरिएको छ भने उनीहरुलाई जिल्ला प्रशासन कार्यालय र महानगरको जिम्मा लगाइने प्रवक्ता कठायतले जानकारी दिएका छन् ।
यस्तै अहिलेसम्म निषेधाज्ञा उल्लङ्घन गरेका २ सय ४२ गाडी पनि नियन्त्रणमा लिइएको प्रवक्ता कठायतले जानकारी दिएका छन् ।
यसैगरी अत्यावश्यक कामबाहेक हिँड्नेलाई प्रहरीले रोकेको छ भने मर्निङ वाक र इभिनिङ वाकमासमेत ननिस्कन प्रहरीले आग्रह गरेको छ । अति आवश्यक बाहेकका कामका लागि निस्किएको पाइए सुरक्षाकर्मीले सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्नेछन् ।
यो ऐनमा आदेशलाई अपहेलना गर्ने व्यक्तिलाई एक महिनासम्म कैद वा एक सय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।
त्यस्तै यो ऐनअन्तर्गत अधिकृत व्यक्तिलाई काममा बाधा पुर्याउनेलाई ६ महिनासम्म कैद वा ६ सय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएकाले सरकारले उपत्यकामा निषेधाज्ञा जारी गरेको हो ।