बैदेशिक रोजगार : एक बर्षमा अड्चालिस जनाको मृत्यु, तेत्तिस जना बेपत्ता
Saturday, July 27th, 2024, 6:34 pm
Kalpristha
लीलाधर वली
दाङ, १२ साउन
घोराही उप–महानगरपालिका–१६ सुन्दर टोल निवासी तुलाराम थापा तीन बर्षअघि बैदेशिक रोजगारीका क्रममा मलेसिया जानुभएको थियो । विदेशमा गएर पैसा कमाएर कमजोर घरको आर्थिक अवस्था सुधार गर्ने उद्देश्यले जानुभएका थापा २०८० माघको २६ गते सडक दुर्घटनामा परेर बित्नुभयो ।
रोजगारीका लागि कमाउन जानुभएका श्रीमान बितेपछि परिवारमा समस्या थपिएको श्रीमती करिष्मा घर्ती बताउनुहुन्छ । घरका लागि कमाउने श्रीमानको मृत्यु भएपनि परिवारमा थप समस्या थपिएको भन्दै श्रीमती घर्तीले भन्नुभयो,‘विदेश गएर दुईचार पैसा कमाउनुहोला भन्ने आशा थियो । तर बैदेशिक रोजगार सोचे जस्तो भएन, कमाउन जानुभएका श्रीमान बिदेशमै बितेपछि झन समस्या थपिएको छ ।’
घोराही उप–महानगरपालिका–१२ अवलधारा निवासी दिले वली बैदेशिक रोजगारीका क्रममा दुबई जानुभएको थियो । करिव चार बर्ष बैदेशिक रोजगारमा बसेर २०८० माघको १२ गते घर फर्किनुभएका वलीको केही समयपछि घरमै मृत्युभयो । घरका लागि आर्थिक जोहो गर्ने श्रीमानको मृत्यु भएपछि घर व्यवहार चलाउनसँगै बालबालिकालाई पठनपाठन गराउन समस्या भएको श्रीमती रामकली वली बताउनुहुन्छ ।
घोराही उप–महानगरपालिका–९ तेघरा निवासी शरदलाल चौधरी बैदेशिक रोजगारीका क्रममा दुबई जानुभयो । बैदेशिक रोजगारीका क्रममा दुई बर्षअघि दुई पुग्नुभएका चौधरीको २०८० असार महिनामा दुबईमा मृत्यु भएको सुरक्षित आप्रवासन सामी कार्यक्रमअन्तर्गत जिल्ला प्रशासन कार्यालयमा सञ्चालित सुचना परामर्शकर्ता रीता लामाले जानकारी दिनुभएको छ ।
सुचना परामर्शकर्ता लामाका अनुसार आर्थिक बर्ष २०८०÷०८१ मा दाङबाट बैदेशिक रोजगारीमा जानुभएका ४८ जनाको मृत्यु भएको छ । जसमा ४७ जना पुरुष र एक जना महिला रहनुभएको छ । परामर्शकर्ता लामाका अनुसार मृत्यु भएकामध्ये घोराही उपमहानगरपालिका निवासी १६ जना, तुलसीपुर उपमहानगरपालिका निवासी १२ जना, लमही नगरपालिका र बबई गाउँपालिका निवासी तीनतीन जना, शान्तिनगर गाउँपालिका निवासी दुई जना,दंगीशरण गाउँपालिका र राजपुर गाउँपालिका निवासी एकएक जना र दाङमा बस्ने ठेगाना अन्य जिल्ला भएका दश जना रहेका छन् ।
मृत्युमा खाडी मुलक दुबई, मलेसिया, कुबेत, ओमनसँगै जापानलगायतका युरोपियन देशहरु रहेका छन् । उहाँका अनुसार बैदेशिक रोजगारीका क्रममा मृत्यु भएका परिवारलाई एक बर्षको अवधिमा चार करोड २४ लाख आठ सय ३३ रुपियाँ आर्थिक सहायता प्रदान गरिएको छ । पीडित परिवारले दिनुभएको निवेदनका आधारमा सामी कार्यक्रमले समन्वय गरेर बैदेशिक रोजगार विभागबाट आर्थिक सहायता प्रदान गरिएको बताउनुभएको छ ।
सुचना परामर्शकर्ता लामाले भन्नुभयो,‘जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयअन्तर्ग रहेको सुरक्षित आप्रवासन सामी कार्यक्रमले बैदेशिक रोजगारीमा जानेलाई परामर्शसँगै विदेशमा पुगेर मृत्यु,अंगभंग,बेपत्ता भएका वा ठगीमा परेका पीडित परिवारका लागि सहायताको काम गर्दै आएको छ ।’
सुचना परामर्शकर्ताका अनुसार एक बर्षको अवधिमा बैदेशिक रोजगारीका क्रममा विभिन्न देश पुग्नुभएका १४ जना बिरामी तथा अंगभंग हुनुभएको छ । काम गरिरहेको समयसँगै कम्पनीबाट घर क्रममा दुर्घटनामा परेर तुलसीपुर उपमहानगरपालिका निवासी सात जना, घोराही उपमहानगरपालिका निवासी ५ जना, राजपुर गाउँपालिका र गढवा गाउँपालिका निवासी एकएक जना रहेका छन् ।
बिरामी तथा अंगभंग हुनेमा दुईजना महिला र १२ जना पुरुष रहनुभएको छ । वितेको एक बर्षको अवधिमा रोजगारीका खाडी देशहरमा पुगेका तथा अमेरिकालगायतका देशहरुमा जानका लागि डिहेका ३३ जना बेपत्ता भएका छन् । हराइरहेकाहरुको खोजीका लागि परिवारको तर्फबाट निवेदन परेको र बैदेशिक रोजगार विभागकामाध्यमबाट सम्वन्धी देशहरुमा खोजी कार्यका लागि समन्वय भइरहेको परामर्शकर्ता लामाले बताउनुभएको छ ।