सल्लाको खोटाबाट ३२ लाख राजस्व संकलन
Monday, July 29th, 2024, 6:19 pm
Kalpristha
लिलाधर वली
दाङ, १४ साउन
दाङमा सल्लाको खोटो संकलनबाट ३२ लाख बढी राजस्व संकलन भएको छ । जिल्लामा आर्थिक बर्ष २०८०÷१ मा दुई लाख ७२ हजार १२ केजी सल्लाको खोटो बिक्री हुँदा ३२ लाख ७३ हजार दुई सय ६९ रुपियाँ राजस्व संकलन भएको डिभिजन वन कार्यालय घोराहीका सुचना अधिकारी मदन सापकोटाले जानकारी दिनुभएको छ ।
सुचना अधिकारी सापकोटाका अनुसार सल्लाको खोटो बिक्रीबाट संकलन भएको राजस्वमध्ये २७ लाख ९० हजार नौ सय रुपियाँ वन समुह र चार लाख ७२ हजार तीन सय ३९ रुपियाँ प्रदेश संचित कोषमा जम्मा भएको छ । गतबर्ष जिल्लामा गत बर्ष ७८ हजार केजी सल्लाको खोटो निकासी हुँदा नौ लाख ३९ हजार २७ रुपियाँ राजस्व संकलन भएको थियो । जिल्लामा सल्लाको खोटोबाट गतबर्षको तुलनामा तेब्बर बढी राजस्व संकलन भएको छ । जिल्लामा गतबर्ष सल्लाको खोटो संकलन गर्ने वन क्षेत्र थपिएसँगै राजस्वमा समेत वृद्धि भएको छ । अघिल्लो बर्ष दश वटा समुहबाट खोटो संकलन भएपनि गत आर्थिक बर्ष १९ वटा वन समुहबाट खोटो संकलन भएको डिभिजन वन कार्यालय घोराहीले जनाएको छ ।
जिल्लामा खोटो संकलन गर्ने क्षेत्रफल बढेसँगै राजस्वमा वृद्धि भएको सुचना अधिकारी सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो,‘विगतका बर्षभन्दा अहिले खोटो संकलन गर्ने क्षेत्रफल बढ्दा राजस्वमा वृद्धि भएको छ ।’ सडक कालोपत्रे गर्ने तारपिन तेल र पेन्ट गर्ने रङ बनाउनका लागि आवश्यक सामग्रीमा सल्लाको खोटो कच्चा पदार्थका रूपमा प्रयोग हुने गर्दछ । कच्चा पदार्थका रुपमा प्रयोग हुने सल्लाको खोटो जिल्लाका विभिन्न सामुदायिक वनबाट गंगा रोजिन एण्ड टर्पिनटाइन कम्पनी बाँके र बुढाथोकी टर्पिनटाइन कम्पनी अमेलिया दाङले खोटो संकलन गर्ने काम गर्दै आएका छन् ।

……….
सामुदायिक वनको मुख्य आम्दानी
जिल्लामा खोटो संकलन सामुदायिक वन समुहको मुख्य आम्दानीको श्रोत बनेको छ । जिल्लाका पहाडी क्षेत्रमा रहेका सामुदायिक वन समुहले जङ्गलमा रहेका सल्लाको रुखबाट उत्पादन हुने खोटो बिक्री गरेर वार्षिक रूपमा लाखौँ रुपियाँ आम्दानी गर्ने गरेका छन् । यसरी वन समूहले सल्लाको खोटो बिक्री गरेर भएको आम्दानी वन समूहकै संरक्षणसँगै गाउँमा सामाजिक कार्यमा लगाउने गरेका छन् ।
गाउँमा लागि आवश्यक खानेपानी, विद्यालयको भवन निर्माण, चौतारा निर्माण लगायतका कार्यमा लगाउने गरेको बङ्गलाचुली गाउँपालिका–८ स्थित ओखलढुङ्गा सामुदायिक वन समूहका सचिव लोकबहादुर गाहामगर बताउनुहुन्छ । आर्थिक अभावका कारण समुदायका सदस्यले सामाजिक कार्यमा पैसा उठाउन नसक्ने भएपछि वन समुहबाट संकलन भएको पैसा लगाउने गरेको भन्दै उहाँले भन्नुभयो,‘खोटो संकलनबाट भएको आम्दानी वन समुहको संरक्षणसँगै गाउँमा सामाजिक कार्यमा आवश्यक पर्दा लगाउने गरेका छौ ।’ कम्पनीले सल्लाको खोटो प्रतिकेजी १२ रुपियाँका दरले खरिद गर्ने गर्दछन् ।
राम्रो बढेको सल्लाको रुखबाट कम्तीमा आठ–नौ वर्षसम्म निरन्तर खोटो निकाल्न सकिने स्थानीय बताउँछन् । वैशाख–जेठ महिनादेखि मङ्सिर–पुस महिनासम्म खोटो संकलन हुने गरेको छ । चिसो मौसममा भने खोटो जाम भएर कम संकलन हुने भएकाले बन्द हुने गर्दछ ।