पुर्ण रुपमा सञ्चालन हुन सकेन घोराहीको बायो ग्यास प्लान्ट
Monday, July 29th, 2024, 6:26 pm
Kalpristha
लीलाधर वली
घोराही, १४ साउन
दाङको घोराहीमा फोहोरबाट ग्यास उत्पादन गरेर घरघरमा पु¥याउने योजना अनुसार निर्माण गरिएको वायोग्यास प्लान्ट उद्घाटन भएको दुई बर्ष बढी भयो । २०७८ चैत १९ गते घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीले उद्घाटन गरेको बायोग्यास प्लान्ट फोहोर अभावका कारण पूर्ण रुपमा सञ्चालन हुन सकेको छैन ।
तत्कालका लागि घोराही उपमहानगरपालिका–१६ अन्तर्गत करिव एक सय घर परिवारमा पाइपबाट घरघरमा बायोग्यास पु¥याउने गरि संरचना निर्माण गरिएपनि आवश्यक फोहोर संकलन नहुँदा परिक्षणका रुपमा घोराही–१६ गरुवागाउँका ३४ घरलाई ग्यास वितरण गरिरहेको नेपाल उर्जा विकास कम्पनीका प्लान्ट म्यानेजर हरिशरण श्रेष्ठले बताए ।
प्लान्टका लागि दैनिक २५ टन फोहोर आवश्यक रहेपनि अहिले करिव दुई टन मात्र फोहोर संकलन हुँदा सम्पूर्ण तयारी गरेपनि पूर्ण रुपमा बायोग्यास प्लान्ट सञ्चालन गर्न नसकेको कम्पनीका प्लान्ट म्यानेजर श्रेष्ठले बताए । अहिले परिक्षणका लागि ३४ घरपरिवारलाई दैनिक चार घण्टाका दरले निशुल्क बायोग्यास वितरण गरिरहेको प्लान्ट म्यानेजर श्रेष्ठको भनाई छ । उनका अनुसार पूर्ण रुपमा सञ्चालनका लागि ग्यास प्लान्टलाई दैनिक २५ टन फोहोर आवश्यक पर्ने भएपनि अहिले निकै कम २ देखि ४ टन मात्र फोहोर उपलब्ध हुने गरेको छ ।
फोहोर अभावका कारण सवै तयारी गरेर पनि प्लान्ट पूर्ण रुपमा सञ्चालन गर्न नसकिएको भन्दै म्यानेजर श्रेष्ठले भने,‘घोराही वडा नं. १६ का करिव एक सय घरहरुमा पाइपबाट बायोग्यास पु¥याउनको लागि पाइप विस्तार गरिसकेको छौ तर फोहोर अभावका कारण सञ्चालन गर्न सकेका छैनौ ।’ फोहोर नहुँदा अहिले दैनिक ६० देखि ६५ घन मिटरसम्म ग्यास उत्पादन हुने गरेको र त्यही ग्यासलाई खेर फाल्नुभन्दा परिक्षणका रुपमा प्लान्ट वरपरका स्थानीयलाई दिने गरेको उनले जानकारी गराए ।
ग्यास प्लान्ट पूर्ण रूपमा सञ्चालन आउँदा दैनिक दुई हजार घनमिटर ग्यास उत्पादन हुने गर्दछ ।
प्लान्टका लागि फोहोर बढाउने र आगामी भदौ महिनादेखि करिव एक सय घर परिवारमा बायोग्यास पु¥याउने गरि काम भइरहेको प्लान्ट म्यानेजर श्रेष्ठले जनाए । त्यसका लागि घोराहीमा रहेको बधशालालाई व्यवस्थीत गर्ने, गल्ने र नगल्ने फोहोर अनिवाय रुपमा बर्गीकरण गर्ने र अन्य आवश्यक फोहोर गौशालाबाट ल्याउने गरि काम भइरहेको बताए । उनका अनुसार यसरी काम गर्दा बजार क्षेत्रबाट करिव चारदेखि पाँच टन, बधशालाबाट दुई टन, चक्लीघाट गौशालाबाट गोवर दुई टन र लमहीमा रहेको पोल्टी फर्मबाट कुखुराको सुली चार टन फोहोर संकलन गरेर भदौ महिनादेखि करिव एक सय घरमा फोहोरबाट ग्यास उत्पादन गरेर पठाउने गरि काम भइरहेको बताए ।
फोहोर नहुँदा निर्माण सम्पन्न भएको लामो समयसम्म पनि प्लान्ट परिक्षणकै रुपमा सञ्चालन गर्नु परेकाले ग्यासको मुल्य निर्धारण गर्न नसक्दा अहिले वितरण भइरहेको परिवारबाट समेत शुल्क लिन नसकेको प्लान्ट म्यानेजर श्रेष्ठ बताउँछन । घोराहीका करिव सात सय ५० बढी घरहरुमा बायोग्यास पु¥याउने गरि स्थापना गरिएको हो ।
पहिले घोराहीमा प्रसस्त फोहोर हुने भएकाले प्लान्ट स्थापना भएपनि बंगुरपालन गर्ने व्यवसायीले बजारको फोहोर उठाउने हुँदा प्लान्टलाई समस्या भएको भन्दै म्यानेजर श्रेष्ठले भने,‘सुरुमा घोराहीमै फोहोर धेरै भएकाले पुग्छ भन्ने थियो । तर अहिले फोहोर पाउनै मुस्किल परेको छ । अन्य पालिकाहरुसँग कुरा गर्दापनि पाउन सकिएको छैन।’ २०७५ मंसिर ५ गते वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्र, नेपाल ऊर्जा विकास कम्पनी र घोराही उपमहानगरपालिकाबिच त्रिपक्षीय सहकार्यमा घोराहीमा फोहोरबाट ग्यास उत्पादन गर्ने सम्झौता अनुसार २०७८ मा प्लान्ट निर्माण भएको थियो ।
सम्झौता अनुसार उपमहानगरपालिकाले जग्गा उपलब्ध गराउने र नेपाल उर्जा विकास कम्पनीको ६० प्रतिशत र बैकल्पिक उर्जा प्रवद्धन केन्द्रको ४० प्रतिशत लगानी गरेर फोहोरबाट ग्यास उत्पादन गर्ने योजना अनुसार प्लान्ट निर्माण गरिएको थियो । प्लान्टका लागि आवश्यक फोहोर व्यवस्थापनका लागि घोराही उपमहानगरपालिको गल्ने र नगल्ने फोहोर उपभोक्तालाई छुट्याउन लगाएर बार अनुसार फोहोर संकलन गर्ने गरेको छ । तर उपभोक्ताले गल्ने नगल्ने फोहोर नुछट्याइउने र धेरै जसो फोहोर होटेलबाट बंगुरपालन गर्ने व्यवसायीले गर्दा प्लान्टका लागि आवश्यक फोहोर संकलन हुन नसकेको घोराही उपमहानगरपालिका वातावरण तथा सरसफाई शाखा प्रमुख लक्ष्मण अधिकारी बताउँनुहुन्छ । प्लान्ट स्थापनाका लागि करिव २० करोड खर्च भएको छ ।