विश्वव्यापी महामारी कोरोना भाइरसका कारण पहिलो पटक पशुपतिमा यो वर्ष तीज मेलामा रोक लगाइयो
Thursday, August 20th, 2020, 6:09 pm
amit
काठमाडौ, ४ भदौ । हरेक वर्ष हरितालिका तीजमा पशुपतिनाथ मन्दिरमा महादेवका श्रद्घालुहरुको घुइँचो लाग्ने भएतापनि पहिलो पटक पशुपतिमा यो वर्ष तीज मेलामा रोक लगाइएको छ ।
पशुपति विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालका अनुसार विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमणका कारण भोलि, भदौं ५ गतेको तीज मेला नहुने जानकारी गराइएको हो । नियमित रुपमा हुने नित्यपूजा बाहेक कुनै पनि पूजाका कार्यक्रम नहुने उनले जानकारी दिएका छन् ।
यसैगरी आफूलाई आपद् पर्दा भगवान पुकार्नुपर्ने हाम्रो परम्परा रहेता पनि यो वर्ष कोरोना महामारीका कारण पूजाका लागि मठमन्दिर जान रोक लगाइएको छ ।
काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू भएकाले घर बाहिर गएर तीज पूजा गर्न सम्म्भव नभएको सदस्य सचिव डा. ढकालले बताएका छन् ।
गत वर्षको तीजका लागि पशुपतिमा लगभग ७ लाख श्रद्घालुहरुले दर्शन गरेका थिए । पशुपतिका चारै ढोका खोलेर पूजाको व्यवस्था मिलाइएको पनि थियो । तर, यसपाली भने पशुपतिको मुल गेट नै बन्द गरिएको छ ।
उनका अनुसार नियमित पूजाबाहेक अरू कसैलाई पनि मन्दिरभित्र प्रवेश नदिइएको र महामारी नियन्त्रणका लागि सरकाले जारी गरेको स्वास्थ्य मापदण्ड तथा निर्देशन अनुसार नै मन्दिर बन्द गरिएको हो ।