लुम्बिनी प्रदेश सभाः पाँच वर्षमा सवारीसाधन मर्मतमा १ करोड बढी रकम खर्च
Tuesday, August 6th, 2024, 8:57 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २२ साउन
लुम्बिनी प्रदेश सभाले गएको पाँच वर्षमा चार पांग्रे सवारीसाधन मर्मतका नाममा मात्रै १ करोड ७५ लाख बढी रकम खर्च गरेको छ । प्रदेश सभाले खरिद गरेका चार पांग्रे सवारीसाधनको मर्मतका नाममा आर्थिक वर्ष २०७६÷०७७ देखि आर्थिक वर्ष २०८०÷८१ सम्म १ करोड ७५ लाख ४ हजार १९३४ रुपैयाँ खर्च गरेको हो ।
लुम्बिनी प्रदेश सभाले सभामुख, उपसभामुख, संसदीय दलका सभापति, दलका प्रमुख सचेतक र सचिवका लागि सवारी साधन, चालक र इन्धनका साथै मर्मतसम्भार सुविधा पनि दिने गरेको छ । गत पाँच आर्थिक वर्षमा मर्मतका नाममा गरिएको खर्चले संघियताप्रति मानिसको वितृष्णा झनै बढाएको छ ।
प्रदेश सभाले आर्थिक वर्ष २०७६÷७७ मा मर्मत सम्भारमा ४६ लाख ८७ हजार ७६९ रुपैयाँ खर्च गरेको छ । त्यस्तै आर्थिक वर्ष २०७७÷०७८ मा ३१ लाख ८७ हजार ४३५, २०७८÷०७९ मा ३० लाख ६४ हजार ५८६ रुपैयाँ खर्च भएको छ । यसैगरी २०७९÷०८० मा २६ लाख ३१ हजार १८८, २०८०÷०८१ मा १५ वटा सवारी मर्मत गर्दा ३९ लाख ३३ हजार ७७१ रुपैयाँ खर्च भएको प्रदेश सभा सचिवालयकी सूचना अधिकारी सम्झना सुवेदीले जानकारी दिइन् ।
प्रदेश सभाले उक्त रकम टाटा सफारी स्ट्रोम, निसान टेरो भीएक्स, स्करपिओ, फोर्ड, टोयटा हाइलक्स लगायतका गाडी मर्मतमा खर्च गरेको हो । त्यसैगरी बा १ झ ९७२९ नम्बरको फोर्ड एभरेष्ट गाडीको मर्मतमा पाँच आर्थिक वर्षमा २० लाखभन्दा बढी खर्च भएको छ । अघिल्लो आर्थिक वर्षमा मात्र यो सवारी मर्मतका नाममा २ लाख ९३ हजार ४९३ रुपैयाँ खर्च भएको छ । यो गाडीसभामुख तुलाराम घर्तीले प्रयोग गरेका छन् । उनले यो सवारी प्रयोग गरेको आर्थिक वर्ष २०७९÷८० देखि हो ।
त्यसअघि यो गाडी पूर्व सभामुख पूर्ण बहादुर घर्ती मगरले प्रयोग गर्दै आएका थिए । यो गाडी मर्मतका लागि आर्थिक वर्ष २०७६÷०७७ मा ४ लाख ६८ हजार ५१, २०७७÷०७८ मा १ लाख ९४ हजार ३२, २०७८÷०७९ मा ८ लाख ८० हजार ५५५ र आर्थिक वर्ष २०७९÷०८० मा १ लाख ७६ हजार ५१३ गरी कुल २० लाख १२ हजार ६४४ रुपैयाँ खर्च भएको छ ।
यसैगरी प्रदेश सभा सचिवालयले उपलब्ध गराएको मर्मत खर्च अनुसार आर्थिक वर्ष ०८०÷०८१ मा सवारी मर्मत गर्दा ३९ लाख ३३ हजार ७७१ रुपैयाँ खर्च भएको छ । यस आर्थिक वर्षमा सबैभन्दा बढी मर्मत खर्च उपसभामुख मेनुका खाँड केसीले प्रयोग गरेको सवारीमा भएको छ । टाटा सफारी स्ट्रोम भिएक्सको लु १ झ ४४८ नम्बरको उक्त सवारी मर्मतमा ६ लाख ८९ हजार ९७० रुपैयाँ खर्च भएको छ ।