काभा वुमन्स नेसन्स लिग : आज उपाधिका लागी नेपाल र भारत भिड्दै
Wednesday, August 7th, 2024, 11:49 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २३ साउन
आयोजक नेपाल काभा महिला नेसन्स लिगको उपाधिका लागि आज भारतसँग प्रतिस्पर्धा गर्दैछ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा मंगलबार इरानलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो । सोही दिन पहिलो फाइनलमा भारतले पनि श्रीलंकालाई सोही सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।
नेपाल र भारतबीचको फाइनल खेल साँझ ५ बजे सुरु हुनेछ । लिगचरणमा नेपालले भारतमाथि ३–२ को रोमाञ्चक जित हासिल गरेको थियो । यसअघिका भेटमा भारतले नेपालमाथि जित हासिल गर्दै आएको थियो । तर, यसपल्ट भने नेपाल घरेलु कोर्टमा भारतलाई हराउन सफल भयो । नेपाल सोही लयलाई कायम राख्ने लक्ष्यमा छ । यता, भारत भने लिगचरणमा बेहोरेको हारको बदला लिने लक्ष्य साथ कोर्ट उत्रिने छ ।
फाइनल हेर्न प्रधानमन्त्री जाने
प्रधानमन्त्री केपी शर्मा ओली आज हुने सेन्ट्रल एसियन भलिबल एशोसिएशन (काभा) महिला नेसन्स भलिबल प्रतियोगिताको फाइनल खेल हेर्न जानुहुने भएको छ । उक्त प्रतियोगिता अन्तर्गत नेपाल र भारतबीच हुने फाइनल खेलको समापनमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने उहाँको सचिवालयले जनाएको हो । नेपाल र भारतको फाइनल खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुनेछ ।
उक्त खेल साँझ ५ बजेदेखि सुरु हुनेछ । घरेलु टोली नेपालले सेमिफाइनलमा इरानलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । यता भारतले सेमिफाइनलमा श्रीलङ्कालाई ३–० कै सोझो सेटमा पराजित गर्दै फाइनमा पुगेको हो ।
लिगचरणमा नेपालले भारतमाथि ३–२ को रोमाञ्चक जित हासिल गरेको थियो । यसपटक पनि नेपालले घरेलु कोर्टमा भारतलाई पराजित गर्दै प्रतियोगिताको उपाधि उचाल्ने लक्ष्यका साथ खेल्नेछ । भारतले पनि लिगचरणमा व्यहोरेको हारको बदला लिने लक्ष्यका साथ मैदानमा उत्रनेछ ।