एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा पाँचजनाको मुत्यु
Wednesday, August 7th, 2024, 7:54 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २३ साउन
एयर डाइनेस्टीको कल साइन ९ एन–एजेडी हेलिकप्टर दुर्घटनामा पाइलटसहित पाँचजनाको मुत्यु भएको छ । बुधबार दिउँसो १ः५४ बजे भक्तपुरको नलिन्चोकबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडान भरेको हेलिकप्टर दिउँसो २ः१४ बजे नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित सूर्यचौरमा दुर्घटनाग्रस्त भएको थियो ।
हेलिकप्टर दुर्घटनामा परी पाइलट अरुण मल्लसहित चार चिनियाँ (तीन पुरुष र एक महिला) नागरिकको मृत्यु भएको हो । नेपाल नागरिक उड््डयन प्राधिकरणका अनुसार मृत्यु हुनेमा पाइलट मल्ल र चिनियाँ नागरिकहरू जुताड ताङ, ताइ ली, यीयाम वु र जेमिङ जी रहनुभएको छ । सो दुर्घटनामा परी मृत्यु भएका मृतकहरुको शव सङ्कलन भई शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौँ ल्याउने कार्य भइरहेको प्राधिकरणले जनाएको छ
त्यसैगरी सरकारले एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको छानबिन गर्न तीन सदस्यीय दुर्घटना जाँचबुझ आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को मंगलबार सिंहदरबारमा भएको आकस्मिक बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको संयोजकत्वमा आयोग गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । आयोगको सदस्यमा एरोनोटिकल इञ्जिनियर विष्णु बस्नेत र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव (प्राविधिक) तनुजा पोखरेल हुनुहुन्छ । आयोगलाई ३० दिनभित्र प्रतिवेदन पेस गर्न समय दिइएको छ ।
बैठकले हेलिकप्टर दुर्घटनमा मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । हेलिकप्टर दुर्घटनामा मृत्युभएका सबै यात्रु चिनियाँ नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गरेको मन्त्री गुरुङले बताउनुभयो ।
यसैबीच एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका सबैको शव सङ्कलन गरी शवपरीक्षण तथा अन्य कार्यका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको नेपाल नागरिक उड्डयन प्राधिकरण, खोज तथा उद्धार समन्वय केन्द्रले विज्ञप्तिमार्फत जनाएको छ ।