काभा वुमन्स नेसन्स भलिबल लिगको उपाधि भारतलाई
Wednesday, August 7th, 2024, 7:56 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २३ साउन
घरेलु टोली नेपाललाई पराजित गर्दै भारतले काभा वुमन्स नेसन्स भलिबल लिगको उपाधि जितेको छ । योसँगै लिग चरणमा बेहोरेको हारको बदला लिन भारत सफल भएको छ । भारतले लिग चरणमा ३–२ को सेटमा हार बेहोरेको थियो । बुधबार उक्त सेटलाई उल्टाउँदै भारतले २–३ को सेटमा जित निकाल्दै बदला पूरा गरेको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा बुधबार भएको फाइनल खेल नेपालमा पहिलो सेट २५–२३ ले आफ्नो पक्षमा पारेको थियो । निकै प्रतिस्पर्धात्मक बनेको उक्त सेटको सुरुआतमै नेपाल ३–० ले पछि परेको थियो । तर, भारतले लगातार चार अंक जोड्दै पुनरागमन ग¥यो । यद्यपि, अन्त्यतिर २०–२३ ले पछि परेको अवस्थामा नेपालले लगातार पाँच अंक जोड्दै सेट आफ्नो पक्षमा पारेको थियो ।
दोस्रो सेटमा भने नेपालले फितलो प्रदर्शन ग¥यो । नेपालले एक समय ५–१० को स्थितिमा थियो । तर, नेपालले थप ६ अंक जोड्दा भारतले भने १४ अंक हासिल ग¥यो । यद्यपि, भारतलाई २४ अंकमा रोक्दै नेपालले लगातार चार अंक जोडेको थियो । तर, १० अंकमा पछि परिसकेको अवस्थामा नेपालले पुनरागमन गर्न सकेन र दोस्रो सेट १४–२५ ले गुमायो ।
तेस्रो सेटमा चुनौतीको सामना गरे पनि नेपालले सुरुआतदेखि नै अग्रता लिएको थियो । उक्त सेट नेपालले २५–२२ ले आफ्नो पक्षमा पा¥यो । चौथो सेटमा केही चुनौती पेस गरे पनि नेपालले २१–२५ ले नतिजा सुम्पियो । पाँचौं तथा अन्तिम सेटमा भने नेपालको प्रदर्शन निकै कमजोर रह्यो । र, ५–१५ ले भारत जित हासिल गर्न सफल बन्यो ।