भेरी अस्पतालमा ‘सिटीस्क्यान मेसिन’ बिग्रिँदा बिरामी समस्यामा
Sunday, August 11th, 2024, 9:40 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २६ साउन
नेपालगन्जस्थित भेरी अस्पतालमा ‘सिटिस्क्यान मेसिन’ बिग्रिँदा बिरामी समस्यामा परेका छन् । बर्दिया मधुवन नगरपालिका, तारातालका राधेश्याम थारुले भेरी अस्पतालमा सिटिस्क्यान सेवा सन्चालनमा नआउँदा उपचार गराउन समस्या भएको बताए ।
“यहाँ राम्रो उपचार होला भनेर बिरामीलाई ल्याइयो, चिकित्सकले सिटीस्क्यान गर्न भने पनि भेरीमा बिग्रिएकोले एक रात कुर्नुप¥यो”,उनले भने,“भोलीपल्ट पनि नबनेपछि बिरामीलाई बाहिर सिटीस्क्यान गराउनुप¥यो ।” अस्पतालमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट पनि सिफारिस भएका बिरामी आउने गर्दछन् ।
सिटीस्क्यान मेसिन बिग्रिएको करीब एक महिना भइसकेको छ । अस्पतालका प्रमुख डा. प्रकाश थापाले सिटीस्क्यान मेसिन नियमितरुपमा सन्चालनमा ल्याउन प्रयासरत रहेको जानकारी दिए । उनले शुक्रवार भेरी अस्पताल नेपालगन्जमा आएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलसँग सिटीस्क्यानको समस्या देखाउँदै नयाँ सिटीस्क्यानको माग समेत गरेका थिए ।
उनले पोखरेलले तत्काल नयाँ मेसिन खरिदको सम्भावना नभएकोले पुरानै मेसिन मर्मत गरी सेवा प्रवाह गर्न निर्देशन दिँदै दोस्रो चौमासिकसम्म नयाँ मेसिन खरिदको प्रक्रिया अघि बढाउने जानकारी दिए । भेरी अस्पतालको स्तरोन्नति गर्दै सरकारले भौतिक पूर्वाधार विकास, विशेषज्ञ उपचार सेवा, दक्ष जनशक्ति, अत्याधुनिक उपकरण सेवा सुविधामा थप्दै गएको छ । –रासस