किम जोङ उनले आफ्नी बहिनीलाई दिए बढी अधिकार र जिम्मेवारी
Friday, August 21st, 2020, 11:52 am
amit
एजेन्सी, ५ भदौ । कोरोनाभाइरसको महामारी तथा अन्र्तराष्ट्रिय प्रतिबन्धका कारण उत्तर कोरियाको अर्थतन्त्र निकै खस्किएको छ । यही कारणले गर्दा त्यहाँका शासक किम जोङ उन चिन्तामा परेका छन् ।
त्यसैले किमले अमेरिकासँग सम्बन्ध सुधार गर्नका लागि आफ्नी बहिनी किम यो जोङलाई सो जिम्मा दिएका छन् । किमले नै निरपेक्ष सर्वाधिकार राख्ने गरेता पनि उनले कम गर्न विभिन्न नीतिको जिम्मेवारी बहिनीलाई सुम्पेको बताइएको छ ।
दक्षिण कोरियाको नेसनल इन्टेलिजेन्स सर्भिसले दिएको जानकारी अनुसार यो जोङले राज्य मामिला हेरिरहेको छ । तर सो जानकारी दिने संस्थाले उत्तर कोरियाका विषयमा गलत प्रक्षेपण गरेको इतिहास पनि रहेको छ ।
किमले बढी अधिकार बहिनी योलाई दिएको खबर दक्षिण कोरियाको संसद्को बन्द सत्रमा बिहीवार दिइएको बताइएको छ भने त्यहाँका सांसदहरूले यस विषयमा छलफल पनि गरेका छन् ।
एजेन्सीका अनुसार यो जोङले अमेरिका र दक्षिण कोरियासम्बन्धी नीति बनाउने जिम्मेवारी पाएकी छन् र उनी वस्तुगत रूपमा दोस्रो शक्तिशाली नेता हुन्, यद्यपि किमले भने आफूपछिको उत्तराधिकारी छानिसकेका छैनन् ।
यसैगरी किमले आफ्नो शासनभार अलिकति हलुका बनाउन र नीति विफल भयो भने जिम्मेवारीबाट पन्छिन बहिनीलाई शक्ति दिएको बताइएको छ ।
तर केही विश्लेषकहरूले यस सूचनाप्रति शंका पनि व्यक्त गरेका छन् भने एनके न्युजले यो जोङले यसै महिना मात्र दुई महत्त्वपूर्ण बैठक छुटाएको खबर दिएको छ । त्यसले गर्दा उनलाई घटुवा गरिएको हो कि भन्ने अनुमान पनि चलेको छ ।