‘सेन्थेटिक ट्रयाक’को विषयमा समन्वय भइसकेको छ : खेलकुदमन्त्री चौधरी
Wednesday, August 21st, 2024, 9:05 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ५ भदौ
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपालगन्ज रंगशालामा निर्माण भएको ‘सेन्थेटिक ट्रयाक’ उप्केको विषयमा आफ्नो ध्यानाकर्षण भएको बताएका छन् । नेपाल प्रेस युनियन बाँकेले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री चौधरीले नेपालगन्ज रंगशालामा निर्माण भएको ट्रयाक उप्किएको जानकारी भएको र सो विषयमा अनुगमन समितिसमेत बनिसकेको बताएका हुन् ।
निर्माण गर्नेक्रममा त्रुटि भएरनै निर्माणको केही महिनामा ‘सेन्थेटिक ट्रयाक’ उप्किएको हुँदा ठेकेदारले निर्माणको कति समयसम्म मर्मत गर्ने सम्झौतामा उल्लेख भए अनुसार मर्मत तथा निर्माणका कामहरु गर्न लगाईएको मन्त्रीले बताए । यसका साथै नेपालगन्जमा भएको खेलकुद प्रतियोगिताका लागि निर्मित भौतिक पूर्वाधारहरुको प्रयोग हुनेगरी गतिविधि संचालन हुनेगरी खेलकुद क्षेत्रका विज्ञहरुसँग छलफल भइरहेको उनले बताए ।
चौधरीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता पनि समयमै संचालन हुने बताएका छन् । कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता समयमा संचालन नहुने कुरामा आशंका गर्न नहुने उनको भनाइ रह्यो ।
चौधरीले औपचारिक रुपमा समयमा प्रतियोगिता उद्घाटन हुन सकेन भने पनि त्यसका खेलहरु समयमै सुरु गरेर प्रतियोगिता संचालन हुने स्पष्ट पारे । सुर्खेतमा हुने प्रतियोगिताका खेलहरुका लागि निर्माणाधिन रंगशाला उत्कृष्ट पूर्वाधारका रुपमा देखिने बताउँदै मन्त्री चौधरीले केही खेलहरु नेपालगन्जमा गर्ने हो कि भन्नेसमेत छलफल भइरहेको जानकारी दिए । प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको व्यवस्थापन गर्न गाह्रो हुने भएकाले केही खेलहरु नेपालगन्जमा संचालन गर्ने कि भन्ने कुरामा आफूहरु छलफलमा रहेको बताए ।
कर्णाली प्रदेशको सुर्खेतमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका संचालन हुने भएको हो । यसका अलवा चौधरीले कर्मचारी समायोजन तथा व्यवस्थापनको काम पनि अघि बढेको बताउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीका लागि रोजगारीको सृजना एवम् उनीहरुको बालबालिकाका लागि निःशुल्क शिक्षाको व्यवस्थापनको कार्यसमेत अघि बढेको बताए ।
‘सेन्थेटिक ट्रयाक’को छानबिन सुरु
…………
नेपालगन्ज रङ्गशालामा निर्माण गरिएको ‘सेन्थेटिक ट्रयाक’ उप्किएको विषयमा अध्ययन गर्न गठन गरिएको उपसमितिले रङ्गशालामा पुगेर छानबिन सुरु गरेको छ ।
निर्माण पुरा भएको महिना दिन बित्न नपाउँदै सेन्थेटिक ट्रयाक उप्किएको जानकारी सार्वजनिक भएपछि राष्ट्रिय खेलकुद परिषद्लका सदस्यले बहादुर क्षेत्रीको संयोजकत्वमा गठन गरेको तीन सदस्यीय अध्ययन उपसमितिले रङ्गशालामै पुगेर छानबिन सुरु गरेको हो ।
समितिले बुधबार नेपालगन्ज रङ्गशालामै पुगेर स्थलगतरूपमा अनुसन्धान गरिरहेको साबिक मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले जानकारी दिनुभयो ।
सेन्थेटिक ट्रयाक निर्माणका क्रममा निर्माण पक्षबाट प्राविधिक रूपमा के कस्तो त्रुटि भयो वा के कति कारणले ट्रयाक उप्कियो सो बारेमा सूक्ष्म अनुसन्धान गरिरहेको उपसमितिका सदस्य राखेपका इन्जिनियर पूर्णबहादुर सुन्दासले बताउनुभयो ।
अध्ययन उपसमितिका संयोजक राखेप सदस्य लेख बहादुर क्षेत्रीले प्रारम्भिक अध्ययनका क्रममा जडानमा कमजोरी भएर सेन्थेटिक ट्रयाकको ‘डी एरिया’ मा उप्किएको, उत्तर–दक्षिण साइडमा विभिन्न स्थानमा पानी जम्ने गरेको पाइएको बताउनुभयो ।
सो अवसरमा जिल्ला खेलकुद विकास समितिका पदाधिकारी, खेलकुद कर्मचारी, नागरिक समाजका अगुवा, खेलाडी तथा विभिन्न खेलका प्रशिक्षकहरूको पनि उपस्थिति रहेको थियो । राखेपले सेन्थेटिक ट्रयाक निर्माण गर्नका लागि ठेकेदार कम्पनी ‘पञ्चकन्या–सिन्कोट्स जेभी’ ललितपुरलाई ९ करोड ८६ लाख ४० हजार ८ सय ३२ रुपियाँमा ठेक्का दिएको थियो ।