हुम्ला जिप दुर्घटनाः घाइतेको मृत्यु, तीनजनाको उपचार हुँदै
Thursday, August 22nd, 2024, 12:48 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
सुर्खेत, ६ भदौ
बुधबार हुम्लाको चंखेलीमा भएको जीप दुर्घटनामा परी गम्भीर घाइते भएका रमेश मल्लको उपचारको क्रममा मृत्यु भएको छ ।
मुगुको छायाँनाथरारा नगरपालिका–१३ निवासी २५ वर्षीय मल्लको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारका क्रममा गएराति मृत्यु भएको अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले जानकारी दिनुभयो ।
बुधबार बिहान चंखेली गाउँपालिका–२ गर्खाबाट देउली बजारतर्फ गइरहेको कर्णाली प्रदेश २००१ च ०९२२ नम्बरको जीप मुगु खण्डको गौरीसल्लामा दुर्घटना भएको थियो । उक्त जीप धनी मल्ल आफैँ हुनुहुन्थ्यो ।
मल्लका दाई नाता पर्ने रोशन शाहीले भन्नुभयो, “रमेशले जीप किनेको चार÷पाँच महिना मात्रै भयो । सानै उमेरमा बुबा गुमाएका रमेशले घरपरिवार पाल्नका लागि भर्खरै जीप किनेका थिए । रमेशका आमा, श्रीमती र दुई छोराछोरी छन् । उहाँ घरको एक्लो छोरा हुनुहुन्थ्यो ।”
दुर्घटनामा गम्भीर भएका अन्य तीन जनालाई थप उपचारका लागि सिम्रिक एयरको हेलिकप्टरबाट उद्धार गरेर प्रदेश अस्पताल कालागाउँ ल्याइएको थियो ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकामा चंखेली गाउँपालिकाका ३५ वर्षीय सुरेन्द्र शाही, ५० वर्षीय तिलबहादुर शाही, र मुगुको छायाँनाथ रारा नगरपालिका–१३ का ४० वर्षीय पृथ्वी रावतको सघन उपचार कक्षमा राखी उपचार भइरहेको छ ।
प्रहरीका अनुसार अन्य घाइतेको अवस्था सामान्य रहेकाले चंखेली गाउँपालिकामा रहेको दार्मा स्वस्थ्य चौकीमा उपचार भइरहेको छ ।