अव्यवस्थित पार्किङ, छाडा चौपाया , फुटपातमा पसलका सामान, लगायतका समस्या नेपालगन्जका लागि कुनै नौलो समस्या होइन् । यस्ता समस्याले नेपालगन्जका सर्वसाधारणले दिनँहुजसो दुःख पाइरहेका हुन्छन् ।
नेपालगन्ज उप–महानगरपालिकामा यस्ता गुनासाहरु गईरहेकोले नेपालगन्ज उप–महानगरपालिको नगर प्रहरी ‘एक्सनमा’ उत्रिएको छ । उप–महानगरपालिको नगर प्रहरीले बिहीबारबाट फुटपातमा पार्किङ गरि राखेका सवारीसाधनहरु नियन्त्रणमा लिन सुरु गरेको छ ।
नेपालगन्ज उप–महानगरपालिकाका नगर प्रहरी हवलदार चन्द्र बहादुर रानाको नेतृवमा निस्केको टोलीले बिहिबार भेरी अस्पताल परिसरबाट पाँच वटा मोटरसाइकल , एक वटा स्कुटर र नेपालगन्ज उप–महानगरपालिकामा दर्ता नभएको अटो रिक्सा नियन्त्रणमा लिएको थियो ।
सोही कार्यलाई निरन्तरता दिँदै नगर प्रहरीले शुक्रबार पनि अव्यवस्थितरुपमा पार्किङ गरि राखेका सवारीसाधनहरु नियन्त्रणमा लिएको छ ।
नगर प्रहरी शाखा प्रमुख नगर प्रहरी निरिक्षक सूर्य बहादुर बोगटीका अनुसार भेरी अस्पतालबाट एकवटा मोटरसाइकल, सदरलाइनबाट स्कुटर र धम्बोजीबाट दर्ता नभएको अटोरिक्सा नियन्त्रणमा लिई आवश्यक कारबाही अगाडी बढाइएको जानकारी दिए ।