प्रेस युनियनले आयोजना गरेको लेखनवृत्ति प्रतियोगितामा सात महिला पत्रकार पुरस्कृत
Sunday, September 1st, 2024, 5:48 pm
Kalpristha
धम्बोझी, भदौं १६ गते
नेपाल प्रेस युनियन बाँकेले तीज अवसरमा महिला पत्रकारहरुलाई लेखनवृत्ति पुरस्कार वितरण गरेको छ । महिला पत्रकारहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको महिला पत्रकार लेखनवृत्ति प्रतियोगिताका विजेताहरुलाई पुरस्कृत गरिएको थियो ।
लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादशाह कुर्मी, लुम्बिनी प्रदेश सभा सदस्य माया पुन, नेपाल प्रेस युनियन बाँके अध्यक्ष प्रिया स्मृति ढकाल लगायतले पुरस्कृत गर्नु भयो ।
महिला पत्रकार लेखनवृत्ति प्रतियोगितामा सरला सुवेदी प्रथम, सावित्रा विश्वकर्मा दोस्रो र आरती कंटेल तेस्रो हुनु भएको थियो । यसैगरी पत्रकार बिमला चौधरी, ममता थापा, साहिदा बानो र सिवानी विकले सान्त्वना पुरस्कार प्राप्त गर्नु भयो । लेखनवृत्ती प्रतियोगितामा प्रथम हुने सरलाले ५ हजार रुपैयाँ, दोस्रो साबित्राले ३ हजार, तेस्रो हुने २ हजार र सान्त्वना पुरस्कार स्वरुप जनही १ हजार रुपैयाँ प्रदान गरिएको थियो ।
‘अपाङ महिलाहरुको तीजः चाडको रौनक भन्दा परेको संघर्ष’ शिर्षकको सरला सुवेदीले लेखेको फिचर स्टोरी प्रथम, ‘आर्थिक उन्नतीको सहयात्री बनिरहेका नारी’ शिर्षकमा सावित्रा विश्वकर्माले लेखेको फिचर स्टोरी दोस्रो र ‘तीज पर्वको परम्परागत मुल्य र आधुनिक प्रभाव’ शिर्षकमा आरती कंटेलले लेखेको लेख तेस्रो भएको थियो ।
महिलाहरुको महान पर्व तीजसँग सम्बन्धित विषयवस्तुका बारेमा महिला पत्रकारहरुले फिचर स्टोरी र लेखहरु तयारी पार्नु भएको थियो ।
महिला पत्रकार लेखनवृत्ति प्रतियोगिताको निर्णायकको रुपमा तीन सदस्यीय छनोट समिति निर्माण गरिएको थियो । जसको संयोजकमा नेपाल पत्रकार महासंघ बाँकेका पुर्व अध्यक्ष निरज गौतम, सदस्यको रुपमा नेपाल पत्रकार महासंघ बाँके उपाध्यक्ष करुणा शाह र क्रियाशिल महिला पत्रकार समुह बाँकेको कार्यबहाक अध्यक्ष साबित्री गिरी रहनु भएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य कृष्णा सापकोटा, नेपाली कांग्रेस महासमिति सदस्य डा. सुरेश कुमार कनोनिडया, नेपाली कांग्रेस बाँके सह सचिव रेनु सिंह, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्र, बाँके उपाध्यक्ष करुणा, नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश उपाध्यक्ष जयसिंह केसीले आफनो धारणा राख्नु भएको थियो ।
कार्यक्रममा बोल्दै वन तथा वातावरण मन्त्री कुर्मीले पत्रकारिता क्षेत्रमा लागेका महिलाहरुलाई राज्यले प्रोत्साहन गर्न जरुरी रहेको बताउनु भयो । उहाँले भन्नु भयो,‘पत्रकारिता गर्न सहज छैन । यस क्षेत्रमा लागेको महिलाहरुलाई प्रोत्साहन गर्न प्रेस युनियनले राम्रो कामको सुरुआत गरेको छ । यसको निरन्तरताको कामना गर्दछु ।’
आम पत्रकारिता क्षेत्रमा लागेका व्यक्ति सत्य र सहि समाचार पहिचान गरेर मात्र सम्प्रेण गर्दा समाजमा सकारात्मक प्रभाव पार्ने मन्त्री कुर्मीले बताउनु भयो ।
नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रिया स्मृति ढकालले महिला पत्रकारहरुको क्षमता अभिवृद्धि गर्नको लागि गत वर्ष सुरुआत गरिएको कार्यक्रमलाई निरन्तरता दिइने बताउनु भयो । कार्यक्रम संयोजक नेपाल प्रेस युनियन बाँके उपाध्यक्ष निशा शाहले तीजको अवसरमा आयोजना गरिएको लेखनवृत्ती प्रतियोगिताले महिला पत्रकारहरुमा नयाँ उत्साह जगाएको बताउनु भएको थियो ।