खजुरामा पहिलो पटक प्रदेश स्तरीय आइटीएफ तेक्वान्दो प्रतियोगिता हुदैं
Monday, September 2nd, 2024, 4:48 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १७ भदौं
बाँकेको खजुरामा प्रथम आमन्त्रित अन्तर प्रदेश आइटीएफ तेक्वान्दो खुला प्रतियोगिता हुने भएको छ । भदौं १९ र २० गते खजुराको शुक्र भलिबल स्टेडियमको कोर्टमा प्रतियोगिता हुनेछ ।
मोडेल आइटीएफ तेक्वान्दो बाँकेको आयोजनामा हुन लागेको प्रतियोगितामा लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश र कोशी प्रदेश टिमको सहभागिता रहनेछ । २ सय ८० खेलाडीको सहभागिता रहने प्रतियोगितामा महिला तर्फ ७ र पुरुष तर्फ ८ इभेन्ट्स समावेश गरिएको छ ।
प्रतियोगितामा २० देखि ६० केजी तौल समुहमा खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा सहभागि भएका खेलाडी मध्ये महिला र पुरुष उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने आयोजकले जानकारी गराएको छ ।
आयोजक मोडेल आइटीएफ तेक्वान्दो बाँकेका अध्यक्ष होम सुनारले खेलकुदको माध्यमबाट प्रतिभावान खेलाडी उत्पादन गर्दै युवाहरुलाई सकारात्मक सन्देश दिन प्रतियोगिता आयोजना गरिएको बताउनु भयो । उहाँले भन्नु भयो,‘तीजको पुर्व सन्ध्यामा हामीले प्रतियोगिता आयोजना गरिरहेका छौं । प्रतियोगिताले युवाहरुमा नयाँ जोश र जागर प्रदान गर्नेछ । प्रदेश स्तरको प्रतियोगिता भएकोले यसबाट खजुरा क्षेत्रमा आन्तरिक पयर्टन प्रवद्र्धन पनि हुनेछ ।’
मोडेल आइटीएफ तेक्वान्दो बाँकेले यसअघि पनि खेलकुदका विभिन्न कार्यक्रम गर्दै आएको छ । खेलाडी सम्मान, जिल्ला स्तरीय प्रतियोगिता तथा रेफ्री, टेक्निकल सेमिनार आयोजना गरेको थियो ।
५ लाख ६३ हजार ४ सय रुपैयाँ अनुमानित बजेट रहेको प्रतियोगिता आयोजनामा खजुरा गाउँपालिका, कुमारी बैंक, सान नेपाल लगायतका संस्थाले सहयोग गर्ने अध्यक्ष सुनारले बताउनु भयो ।
प्रतियोगिताको एक दिन अघि नेपालगन्जमा भदौं १८ गते प्रदेश स्तरीय रेफ्री तथा टेक्निकल सेमिनारको आयोजना हुँदैछ । बाँके जिल्ला आइटीएफ तेक्वान्दो संघको आयोजनामा प्रदेश स्तरीय रेफ्री तथा टेक्निकल सेमिनारमा ६५ जनाको सहभागिता रहनेछ ।
प्रदेश स्तरीय रेफ्री तथा टेक्निकल सेमिनारका सहभागि प्राविधिकहरुलाई मोडेल आइटीएफ तेक्वान्दो बाँकेका अध्यक्ष होम सुनार, आइटीएफ तेक्वान्दो संघका केन्द्रिय अध्यक्ष प्रविण कुमार कार्की, आइटिएफ तेक्वान्दो संघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र धितालले प्रशिक्षण दिने कार्यक्रम रहेको छ । सेमिनारको तयारी पुरा भएको बाँके जिल्ला आइटिएफ तेक्वान्दो संघका अध्यक्ष नरेन्द्र ओली र सचिव जगदिश भंटले बताउनु भयो ।