एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डका लागि युनाइटेड अजोड इन्स्योरेन्ससँग मञ्चको सम्झौता
Friday, September 6th, 2024, 4:45 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, २१ भदौ
नेपाल खेलकुद पत्रकार मञ्चले एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको २१ औं संस्करणका लागि बिमा कम्पनी युनाइटेड अजोड इन्स्योरेन्स प्रालिले इन्स्योरेन्स पार्टनरको रूपमा निरन्तरता दिएको छ । युनाइटेड अजोड यही भदौ २८ गते नेपाल एकेडेमी भवन कमलादीमा हुने पल्सर स्पोर्टस अवार्ड कार्यक्रममा सह प्रायोजकको रूपमा रहनेछ । मञ्चका सम्पूर्ण सदस्यहरूलाई जनही ५ लाखबराबरको स्वास्थ्य बिमा पोलिसी प्रदान गर्नेछ । यसका साथै कार्यक्रम आयोजना गर्नका लागि नगद सहयोग पनि गर्नेछ ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) र युनाइटेड अजोड इन्स्योरेन्स प्रालिबीच यस सम्बन्धमा शुक्रबार प्रायोजन सम्झौता भएको छ । सम्झौता पत्रमा मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र युनाइटेड अजोडका प्रमुख कार्यकारी अधिकृत श्रवण रावलले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौतापछि सीईओ रावलले नेपालमा यस्तो प्रतिष्ठित कार्यक्रममा सहप्रायोजकको रूपमा निरन्तरता दिन पाउँदा खुसी लागेको बताउनुभयो ।
मञ्चका अध्यक्ष सुवेदीले एआइपीएस एसियाको २५ औं कंग्रेससँगै आयोजना हुने यो वर्षको अवार्ड अन्तर्राष्ट्रिय स्तरको बनाउने मञ्चको प्रयासमा युनाइटेड अजोडको निरन्तर साथले थप हौसला बढाएको बताउनुभयो । पल्सर स्पोर्ट्स अवार्ड २०८० मा वर्षका उत्कृष्ट पुरुष, महिला र युवा तथा प्रशिक्षक विधाको मनोनयन पनि सार्वजनिक हुन बाँकी छ । त्यस बाहेक टिम अफ दी इयर, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट विधाको घोषणा भदौ २८ गते कार्यक्रमकै दिन घोषणा हुनेछ । अवार्डको पिपल्स च्वाइस विधाको मनोनयन भने सार्वजनिक भइसकेको छ ।
पिपल्स च्वाइसमा क्रिकेटका गुलसन झा, फुटबलकी प्रीति राई, भलिबलकी कविता भट्ट, कबड्डीकी मानमती विष्ट र रग्बीका श्रीराम श्रेष्ठ मनोनयनमा परेका छन् । ई–सेवा, पल्सर स्पोर्टस अवार्ड तथा पल्सर नेपालको आधिकारिक फेसबुक पेजमा जारी भोटिङ भदौ २७ गते राति १२ बजेसम्म खुला रहने छ । यस पटक वर्ष पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइसका विजेताले बजाज पल्सर मोटरसाइकल पाउनेछन् । अन्य विधाका विजेतालाई जनही १ लाख रुपैयाँ र गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।