वन मन्त्री कुर्मीद्धारा पिडित परिवारलाई १ लाख रकम प्रदान
Monday, September 9th, 2024, 9:56 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २४ भदौ
गैडाको आक्रमणबाट मृत्यु भएका बर्दियाका मनमोहन चौधरीको परिवारलाई लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले राहत स्वरुप एक लाख रुपैयाँ प्रदान गर्नु भएको छ ।
जिल्ला वन कार्यालय बर्दियाको समन्वयमा सोमबार मृतकको परिवारलाई राहत रकम प्रदान गरिएको थियो । मन्त्री कुर्मीले पिडितसँग लुम्बिनी प्रदेश सरकार कार्यक्रम अन्तर्गतको रकम मृतकका परिवारलाई घरमै पुगेर हस्तान्त्रण गर्नु भएको छ ।
प्रकृति र पर्यावरणको संरक्षणको क्षेत्रमा काम गरिरहेका युवाको निधनले समुदायमा ठुलो क्षति पुगेको प्रति दुःख व्यक्ति गर्दै मन्त्री कुर्मीले उनको परिवारलाई सक्दो सहयोग गर्ने बताउनु भयो । मन्त्री कुर्मीले मृतक मनमोहनका बुबा तिदुराम चौधरीलाई नगर रकम प्रदान गर्नु भएको थियो । मन्त्री कुर्मीले भन्नु भयो, ‘मानवीय क्षतीलाई कसैले पुर्ति गर्न सक्दैन ।
आगामी दिनमा हुन सक्ने यस्ता दुर्घटनाबाट नागरिकहरुलाई सचेत गराउने प्रयास गर्नु पर्छ । वन्यजन्तु र स्थानीय नागरिकको सुरक्षा गर्ने दायित्व राज्यको हो । यसमा सबैले सहकार्य गरेर काम गर्नु पर्छ ।’ वरिष्ठ प्रकृति पथ प्रदर्शक ३७ वर्षे मनमोहन चौधरीको गत गदौं २१ गते बर्दिया मधुवन नगरपालिका वडा नम्बर १ स्थित शिव सामुदायिक वनमा अमेरिकी नागरिक स्वान एमसीलाई जंगल घुमाउने क्रममा गैडाले आक्रमण गरेको थियो ।
आक्रमणबाट अमेरिकन नागरिक स्वान पनि घाइते भएका थिए । डिभिजन वन कार्यालय बर्दियाका सिनियर डिभिजनल वन अधिकृत विजय राज सुवेदीले प्रदेश सरकारले प्रदान गर्ने रकम जति सक्दो छिटो पिडित परिवारसमक्ष पुगोस भनेर राहत प्रदान गरिएको बताउनु भयो ।
राहत प्रदान गर्ने क्रममा सिनियर डिभिजनल वन अधिकृत सुवेदी, ठाकुरबाबा नगरपालिकाकाको उप प्रमुख बिना भंटराई, ठाकुरबाबा नगरपालिका ९ नम्बर वडा अध्यक्ष राधा चौधरी, मधुवन नगरपालिका वडा नम्बर १ अध्यक्ष मिन थापा, डिभिजन वन कार्यालय बर्दियाका निमित्त प्रमुख संरक्षण अधिकृत पुरुषोत्तम वाग्ले, वरिष्ठ वन अधिकृत टंक गुरुङ तथा डिभिजन वन कार्यालय बर्दियाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।