५० हजार चन्दा नदिएपछि प्रिन्सिपलमाथि हातपातको प्रयास
Wednesday, September 11th, 2024, 8:04 pm
Kalpristha
आफुलाई केन्द्रीय समितिले चन्दा उठाउन पठाएको भन्दै तुलसी केसी, महेश बस्नेत र विनोद शर्माले भदौ २४ गते विद्यालयको प्रशासन शाखा र प्रिन्सिपल फा.जोमन जेम्सको कार्यकक्षमा प्रवेश गरेको विद्यालयले जनाएको छ ।
कालपृष्ठ समाचारदाता
कोहलपुर, २६ भदौ
बाँकेको कोहलपुर नगरपालिका–१० रामनगरस्थित जीवन ज्योति स्कुलले पछिल्लो समय विद्यालय लक्षित भइरहेका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विद्यालयले बुधवार पत्रकार सम्मेलनको आयोजना गरी विद्यालय लक्षित घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै गुणस्तरीय शिक्षा प्रदान गर्ने सवालमा कहिकतै विचलन नहुने पनि स्पष्ट पारेको छ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले तोकिएको चन्दा नदिएको झोकमा विद्यालयका प्रिन्सिपल तथा कर्मचारीमाथि दुव्र्यवहार गरेको विद्यालयले जनाएको छ । आफुलाई केन्द्रीय समितिले चन्दा उठाउन पठाएको भन्दै तुलसी केसी, महेश बस्नेत र विनोद शर्माले भदौ २४ गते विद्यालयको प्रशासन शाखा र प्रिन्सिपल फा.जोमन जेम्सको कार्यकक्षमा प्रवेश गरेको विद्यालयले जनाएको छ । उनीहरुले ५० हजार चन्दा दिन दवाव दिएका थिए ।
‘चन्दा सहयोग भन्ने कुरा दवावमा दिने कुरा हुँदैन प्रिन्सिपल जेम्सले भने–‘५ हजार देखि बढी दिन सकिदैन भनेपछि उनीहरुले म माथि नै हातपातको प्रयास गरे । पछि प्रहरीलाई बोलाएर उनीहरुलाई विद्यालय बाहिर निकालियो ।’ विद्यालयको वन्दाम गर्ने, अनर्गल प्रचार गर्ने गरी उल्टै विज्ञप्ती निकालेर मिडियावाजी गरेको भन्दै आपत्ती जनाए । उनले अहिलेसम्म जीवनज्योतिले कुनै पनि धर्मको प्रचारप्रसार नगरेको स्पष्ट पारे ।
समाजमा रहेका सबै वर्गलाई सुलभ र गुणस्तरीय शिक्षा दिने अभिप्रायले सञ्चालित विद्यालय विरुद्ध क्रान्तिकारीले गरेको हर्कत अस्वभाविक रहेको पनि उनले बताए ।
क्रान्तिकारीले अल्टिमेटम सहित बिद्यालयलाई क्षति पु¥याउने धम्की दिएकाले स्थानीय प्रशासनको समेत विद्यालयले ध्यानाकर्षण गराएको छ ।
विद्यालयमा कुनै अवान्छित क्रियाकलाप र क्षती पुगेमा सम्वन्धीत पक्षनै जिम्मेवार रहने पनि विद्यालयद्धारा जारी विज्ञप्तीमा भनिएको छ । विद्यालयले कोहलपुर नगरपालिका, नगर शिक्षा समितिको नीति, नियम र परिधिभित्र रही सञ्चालित रहेको पनि स्पष्ट पारेको छ ।