‘प्रारम्भिक बालविकास सम्बन्धी क्षमता अभिवृद्धि कार्यशाला’ सम्पन्न
Sunday, September 15th, 2024, 8:04 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३० भदौ
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश अन्तर्गतका १२ ओटा स्थानीय पालिकाहरु (भजनी नगरपालिका, दार्चुला नगरपालिका, शिवराज नगरपालिका, छायाँनाथ रारा नगरपालिका, खाँडाचक्र नगरपालिका, अजयमेरु गाउँपालिका, सान्नी त्रिवेणी गाउँपालिका, रास्कोट नगरपालिका, सिम्ता गाउँपालिका, कैलारी गाउँपालिका, र नारायण नगरपालिका) को सहकार्य तथा युनिसेफ नेपाल र सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको प्राबिधिक सहयोग र स्याक नेपाल, कालिका स्वावलम्वन सामाजिक केन्द्र र सामुदायिक विकास केन्द्रको समन्वयमा “प्रारम्भिक बालविकास सम्बन्धी क्षमता अभिवृद्धि कार्यशाला“ सफलतापूर्वक सम्पन्न भएको छ ।
यहि भाद्र २६ देखि ३० गतेसम्म संचालित कार्यशालाको मुख्य उद्देश्य प्रारम्भिक बालविकास राष्ट्रिय रणनीति अनुरुप गर्भावस्था देखि ८ वर्ष सम्मका बालबालिकाको सर्वाङ्गीण विकासका लागि एकीकृत सेवा स्थानीय स्तरबाटनै प्रदान गरि सबै बालबालिकालाई शिक्षा, स्वास्थ्य, पोषण, सुरक्षा तथा संरक्षण, उत्प्रेरणा र सरसफाईमा उचित पहुँच सहित गुणस्तरमा सुधार ल्याउनु रहेको थियो ।
यस आवासीय कार्यशालामा सम्बन्धित स्थानीय सरकारका शिक्षा शाखा प्रमुख र बालविकास संयोजकहरुको उल्लेख्य सहभागिता रहेको थियो । यस तालिमका सहभागीहरुलाई प्रारम्भिक बालविकासको अवधारणा, महत्व र तत्व तथा नेपालमा संचालित र संचालन गर्न सकिने प्रारम्भिक बालविकास सम्बन्धी कार्यक्रमहरु, नेपालमा प्रारम्भिक बालविकासको अवस्था, नीतिगत व्यवस्था र प्रावधानहरु तथा कार्यगत व्यवस्था, राष्ट्रिय योजना आयोगको भूमिका तथा प्रारम्भिक बालविकास राष्ट्रिय रणनीति २०७७–२०८८ को जानकारी, प्रारम्भिक बाल्यवस्थाका बालबालिकाको स्वास्थ्य, पोषण सम्बन्धी सेवाको प्रवाह, स्थानीय सरकारको नीतिगत व्यवस्था,कार्यक्रम तथा सेवाको पँहुच को बारेमा एकमुष्ट छलफल तथा समूह कार्यहरु गरियको थियो । स्थानीय तहको योजना तर्जुमा चरणहरु तथा एकीकृत प्रारम्भिक बालविकास योजना तर्जुमा तयारी, वडा स्तरीय प्रारम्भिक बालविकास समिति गठन तथा प्रबोधिकरण तयारीकोबारेमा पनि घनिभूत छलफल पनि भएको थियो ।
कार्यशालाको उद्घाटन स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका डा. रिनेश अधिकारी ज्यूले गर्नु भएको थियो । उद्घाटनमा बोल्दै डा. अधिकारीले प्रारम्भिक बालविकासमा एकीकृत सेवा हुनुपर्ने र यसले गर्दा “प्रारम्भिक बालविकासमा लगानी दिगो राष्ट्र विकासमा थालनी“ भन्ने नारालाई चरितार्थ पार्ने कुरामा स्पष्ट पार्नु भएको थियो । यस तालिममा सहभागी भएका बालविकास संयोजकहरुले तालिमबाट प्राप्त ज्ञान र सीपलाई आफ्ना क्षेत्रका बालबालिकाको सर्वाङ्गीण विकासका लागि आवश्यक सेवाको एकीकरण तथा गुणस्तर अभिवृद्धिमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यशालाको सहजीकरण युनिसेफ नेपालका प्रारम्भिक बालविकास विशेषज्ञ श्री डा. दिपु शाक्य, युनिसेफ नेपाल फिल्ड कार्यालय सुर्खेतका श्री फर्सु राम पन्थ, सेतो गुराँस राष्ट्रिय बालविकास सेवाका प्रकाश रेग्मी र रितिका दाहाल, बाट भएको थियो ।
नेपाल सरकारको प्रारम्भिक बालविकास राष्ट्रिय रणनीति २०७७–२०८८ अनुसार देशका सबै स्थानीय तहमा प्रारम्भिक बालविकास समिति तथा बालविकास संयोजकको व्यवस्था हुनुपर्ने भनिएता पनि २५ वटा पालिकामा मात्र यस्तो व्यवस्था छ ।