कालपृष्ठ समाचारदाता
लुम्बिनी, ३१ भदौ
लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगमा रिक्त पदाधिकारी नियुक्त गरेको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षमा आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगको उपाध्यक्षमा गुल्मी मालिका गाउँपालिका–८ निवासी डा डिल्लीराज अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ ।
बैठकले आयोगको सदस्यमा रोल्पा परिवर्तन गाउँपालिका–६ निवासी डा सुदनकुमार वली, दाङ घोराही उपमहानगरपालिका–१६ निवासी भुवन चौधरी र रुपन्देही बुटवल उपमहानगरपालिका–१८ निवासी शान्तादेवी ढकाललाई नियुक्त गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले जानकारी दिनुभयो ।
यस्तै बैठकले दाङको शान्तिनगर गाउँपालिकाको केन्द्र गाउपालिका–४ चिराघाटबाट परिवर्तनगरी जुम्लेकुलामा तोक्न नेपाल सरकारसमक्ष सिफारिस गरेर पठाउने निर्णय गरेको छ ।
गाउँपालिकाको १५औँ गाउँसभाको दुई तिहाई बहुमतबाट पालिकाको केन्द्र परिवर्तन गर्ने निर्णय भएको थियो ।
यस्तै गुल्मीको मुसिकोट नगरपालिका र जापानको ओइता प्रिक्याक्चर, बुङ्गोओनो सहरबीच भगिनीसम्बन्ध कायम गर्न आवश्यक निर्णयका लागि नेपाल सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता पन्थीले जानकारी दिनुभयो ।
लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा डिल्लीराज अर्यालले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
उहाँसँगै आयोगका सदस्यहरुले पनि पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले उपाध्यक्ष डा अर्याललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको थियो भने उपाध्यक्ष अर्यालले सदस्य डा सुदनकुमार वली, भुवन चौधरी र शान्तादेवी ढकाललाई शपथग्रहण गराउनुभयो ।
आयोगका उपाध्यक्षसहित सदस्यलाई आज बसेको प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको थियो ।
प्रदेश योजना अयोग गठन तथा कार्य सञ्चालन आदेश २०८० को दफा १६ बमोजिम उपाध्यक्ष तथा सदस्यहरुले आफ्नो कार्यभार सम्हाल्नु अघि अनुसूची २ बमोजिमको ढाँचामा पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ ।
सपथ ग्रहण कार्यक्रमपछि मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशको सुखद् भविष्य निर्माण गर्न तथ्य र प्रमाणमा आधारित योजनालाई अघि बढाउन प्रदेश योजना आयोगलाई निर्देशन दिनुभयो । “पहिलो आवधिक योजनाको जगमा प्रदेश उभिएको छ ।
अब हामी दोस्रो आवधिक योजना निर्माणको अन्तिम चरणमा छौँ”, उहाँले भन्नुभयो, “दोस्रो आवधिक योजनालाई पूर्णता दिन यहाँहरुको भूमिका प्रदेशले चाहेको छ ।”