सरकारले ल्याउन लागेको अध्यादेश अनुपयुक्त छः राप्रपा अध्यक्ष लिङ्देन
Tuesday, October 22nd, 2024, 7:47 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ६ कात्तिक
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले ल्याउन थालेको अध्यादेश अनुपयुक्त भएको धारणा राख्नु भएको छ । नेपालगन्ज विमानस्थलमा भएको पत्रकार सम्मेलनमा अध्यक्ष लिङ्देनले उक्त कुरा बताउनु भएको हो ।
अध्यक्ष लिङ्देनले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउदा सबै दलहरुसँग छलफल गर्नुपर्नेमा त्यसो नगरी सरकारले बहुदलीय प्रजातन्त्र नै समाप्त पार्ने दुश्प्रयास गरेर अध्यादेश ल्याउन थालेको आरोप लगाउनु भयो ।उहाँले भन्नु भयो, ‘मैले प्रधानमन्त्रीलाई भेटेर नै अध्यादेश उपयुक्त नहुने सल्लाह दिएको छु । सरकारले जबरजस्ती ल्याएमा त्यो आफ्नो खाल्डो आफै खनेको ठहरिनेछ ।’
अध्यक्ष लिङ्देनले एमालेले पार्र्टी कार्यालय बनाउन व्यवसायीसँग अरबको सम्पति लिनुलाई नैतिक भ्रष्टाचारको संज्ञा दिनु भयो ।
अध्यक्ष लिङ्देनले रवि लामिछाने पक्राउलाई अनुचित नभएको प्रतिक्रिया दिनु भयो । अभियोग लागेपछि सफाई दिनु पर्ने बताएका लिङ्देनले यस्ता अभियोग लागेका कांग्रेस र एमालेका नेतालाई पनि पक्राउ गर्नुपर्ने बताउनु भयो । लिङ्देनले अहिलेको व्यवस्थाले अवस्था परिवर्तन नहुने भएकाले अवस्था सुधार्न व्यवस्था परिवर्तन गर्न आवश्यक रहेकाले राप्रपाले आन्दोलनको तयारी गरेको बताउनु भयो । उहाँले राजादेखि माओवादीसम्म अटाउने व्यवस्था आवश्यक रहेको बताउनु भयो । उहाँले प्रदेश संरचना खारेजी, जनप्रतिनिधिको संख्या कटौती हुन आवश्यक रहेको बताउनु भयो ।
राप्रपाका केन्द्रीय अध्यक्षलगायतको टीम आउदा बाँकेमा ठूलो संख्याका नेता तथा कार्यकर्ता स्वागत गर्न पुगेका थिएनन् । महामन्त्री डा. धवलशमशेर राणाको गृह जिल्ला बाँके भएको र राणालाई हालसालै संगठन विभागबाट हटाइएकोमा यहाँका नेता तथा कार्यकर्ता आक्रोशित रहेका छन् । यसप्रश्नमा अध्यक्ष लिङ्देनले एक व्यक्ति, एक पदको अवधारणा अनुसार र स्वास्थ्य अवस्थाले पनि साथ नदिएकाले राणाको जिम्मेवारीमा हेरफेर गरेको प्रतिक्रिया दिनु भयो । कर्णाली यात्रामा पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, प्रवक्ता ज्ञानेन्द्र शाहीलगायतका नेता आएका आउनु भएको छ ।