तरुण दलको स्थापना दिवसको अवसरमा मानवसेवा आश्रमलाई सहयोग
Saturday, October 26th, 2024, 6:53 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, कात्तिक १० गते
नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरुण दल बाँकेले मानवसेवा आश्रमलाई खाद्यान्न वितरण गरेको छ । तरुण दलको ७२ औं स्थापना दिवसको अवसरमा तरुण दलले बिहान आश्रमलाई खाधान्न सामाग्री वितरण गरेको बाँके अध्यक्ष बीरेन्द्र बहादुर शाहले जानकारी दिनु भयो । उहाँका अनुसार चामल, दाल, तेल,चिनी, स्वायविन लगायत करिब २५ हजार मुल्य बराबरको खाद्यान्न सामाग्री आश्रमलाई हस्तान्तरण गरिएको हो ।
आश्रममा आयोजित एक कार्यक्रमकाबीच नेपाली काँग्रेस सय दिने अभियानमा बाँके खटिएका केन्द्रिय प्रतिनिधि कृष्णकिशोर घिमिरेले खाधान्न हस्तान्तरण कार्यक्रमको दिप प्रज्ज्वलन गरेर उद्घाटन गर्नु भएको थियो । तरुण दल बाँकेका अध्यक्ष शाहको अध्यक्षतामा भएको कार्यक्रममा घिमिरेले तरुण दलले प्रदान गरेको खाद्यान्नले आश्रममा रहेका व्यक्तिहरुको जीवन रक्षाका लागि महत्वपुर्ण रहेको बताउनु भयो ।
काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले तरुण दलले सहारा बिहिन व्यक्तिहरुलाई आश्रय दिइरहेको आश्रमलाई सहयोग गरेको भन्दै खुशी व्यक्त गर्नु भयो । सभापति गौडेलले तरुण दलले गर्नु पर्ने कामहरु अझै थुप्रै बाँकी रहेकाले त्यसतर्फ पनि ध्यान दिनु पर्ने उल्लेख गर्नु भयो ।
कार्यक्रममा काँग्रेस बाँकेका उपसभापति गोपाल प्रसाद अधिकारी, नेपाल तरुण दलका केन्द्रिय सदस्य विश्व लम्शाल, काँग्रेस क्षेत्र नम्बर २ का क्षेत्रिय सभापती रमेश गुप्ता, काँग्रेस बाँकेका कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, सहसचिव रेणुसिंह ठाकुर, प्रवक्ता डिल्ली गिरी, लोकतान्त्रिक खेलकुद संघका प्रदेश संयोजक नरेन्द्र थापा, नेपाल विधार्थी संघका केन्द्रिय सदस्य आशिष बर्मा, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल लगायतको सहभागिता रहेको थियो ।
तरुण दल बाँकेका सचीव बिनोद रिजालले सहजीकरण गरेको कार्यक्रममा आश्रमको अवस्था र उद्देश्यबारे आश्रमकी सह–संयोजक बिष्णु घर्तीले जानकारी प्रदान गर्नु भएको थियो । कार्यक्रममा आश्रमलाई तरुण दल नेपालगन्ज नगर सभापति सन्दीप जंग शाहले ११ र तरुण युवा समीर बिष्टले ७ हजार नगद प्रदान गर्नु भएको थियो ।
वि.सं२०१० कात्तिक १० गते कांग्रेसका तत्कालीन सभापति बीपी कोइरालाको मूल प्रेरणामा स्थापना भएको तरुण दलको संस्थापक अध्यक्षमा सिंहध्वज खड्का हुनु हुन्थ्यो । वि.सं २०१७ पुस १ गते तत्कालीन प्रधानमन्त्री बीपीले तरुण दलको कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला राजा महेन्द्रले सेनाको बलमा प्रधानमन्त्री बीपीलगायत सबै नेतालाई थुनेर ‘कु’गरेका गर्नु भएको थियो ।
……….
वि.सं २०५४ मा नेपालगञ्जमा भएको कांग्रेसको महासमिति भेलामा तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले बालकृष्ण खाँणको नेतृत्वमा तरुण दल पुनःस्थापनाको घोषणा गर्नु भएको थियो । नेपाल तरुण दल बाँकेले शनिबारै साँझ नेपालगन्जको बीपी चौकमा दिप प्रज्वलन कार्यक्रमको समेत आयोजना गरेको छ ।