भेरी अस्पतालमा ५ सय शैयाको सुविधा थपिदैं
Thursday, October 31st, 2024, 6:31 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, कात्तिक १५ गते
पश्चिम नेपालको प्रमुख सरकारी अस्पताल भेरी अस्पतालको क्षमता बढाउन नेपाल सरकारले विशेष जोड दिएको छ । अब भेरी अस्पताललाई ५ सय शैयाको अस्पतालको रुपमा विकसित गरेर विशेषज्ञ अस्पतालको रुपमा विकास गर्ने तयारी भैरहेको छ ।
संघीय सरकारको आर्थिक वर्ष ०७६–७७ को नीति तथा कार्यक्रममा भेरीलाई ५०० शैैयामा स्तरोेन्नति गरेर विशिष्टिकृत सेवाको अस्पताल घोषणा गरिएको थियो । तर त्यो कार्यान्वयन हुन सकेको थिएन । अस्पताल विकास समितिले ५० शैया र नेपाल सरकारको १०० शैया गरी १५० शैयामा सञ्चालन भइरहेको अस्पताल गत वर्षदेखि २७० शैयामा सञ्चालन भइरहेको छ । भौतिक पूर्वाधार र जनशक्तिको अभावमा सरकारले ६ वर्षअघि घोषणा गरे पनि भेरी ५०० शैया सञ्चालन हुन सकेको थिएन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले भेरीसहित सबै प्रदेशमका संघीय अस्पताललाई ५०० शैयामा स्तरोन्नती गरेर विशिष्टिकृत अस्पतालको रुपमा विकास गर्न लागिएको बताउनु भयो ।
मन्त्रालयले अस्पतालको स्तरोन्नती र जनशक्ति विस्तारका लागि संगठन संरचना तथा व्यवस्थापन सर्भेक्षण २०८१ स्वीकृत गरेर बजेट सुनिश्चितताका लागि अर्थ मन्त्रालयमा पठाएको छ ।
डा. बुढाथोकीक अनुसार सर्भेक्षणले एउटा संघीय अस्पताललाई ५०० शैयाको बनाउँदा कम्तीमा पनि एक हजार सात सय जनशक्ति आवश्यक पर्ने देखाएकोले भेरीको पनि स्तरउन्नती गरिने बताउनु भयो । उहाँले भन्नु भयो, ‘अर्थ मन्त्रालयले दरबन्दी स्वीकृत गरेको खण्डमा आगामी आर्थिक वर्षदेखि अस्पतालको स्तरोन्नती र जनशक्ति उपलब्ध गराइनेछ । देशैभरी कम्तीमा ६ देखि १० हजार जनशक्ति थप गर्ने हाम्रो तयारी छ ।’
मन्त्रालयले स्थानीय तहका १५ शैयाका आधारभूत अस्पताल, जिल्ला अस्पताल र प्रादेशिक अस्पतालमा सामान्य बिरामी पठाएर संघीय अस्पतालमा विशेषज्ञ र विशिष्टिकृत स्वास्थ्य सेवा दिने व्यवस्था गर्न लागेको छ ।
भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले जनशक्ति र भौतिक पूर्वाधारको अभावमा अस्पताल आएका सबै बिरामीलाई सेवा दिन नसकेको भन्दैं मन्त्रालयलाई ध्यानाकर्षण गराउनु भएको थियो ।
अध्यक्ष शाहले भन्नु भयो, ‘भेरी अस्पतालले विशेषज्ञ र विशिष्टिकृत सेवा दिएका कारण बिरामीलाई भारत र काठमाडौं जाने बाध्यता हट्दै गएको छ । सरकारले थप जनशक्ति व्यवस्थापन गरेमा कोही पनि बिरामी फर्कने अवस्था आउने थिएन ।’