बैकुण्ठधाम आध्यात्मिक महोत्सव आजबाट
Thursday, November 7th, 2024, 5:00 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २२ कात्तिक
राप्तीनदिमा निर्माण गरिने बैकुण्ठधाम सिधनियाघाट निर्माणमा आर्थिक सहयोग जुटाउने उद्देश्यले आयोजना गर्न लागिएको बैकुण्ठधाम आध्यात्मिक महोत्सव आजबाट सुरु हुँदैछ ।
महोत्सवको पुर्व सन्ध्यामा बिहिबार नेपालगन्जमा कलसयात्रा हुँदैछ । महोत्सवको पहिलो दिन विहान ११ बजे महोत्सवस्थल रामलिला मैदानबाट विभिन्न जाती, भाषा, धर्म र सम्प्रदायको सहभागितामा झाँकी सहित कलशयात्रा सुरु हुनेछ ।
बाँके र यस आसपासका नागरिकबाट वर्षौंदेखि भोग्दै आएको दाहसंस्कार समस्या हुने गरेको छ ।
त्यही समस्या र दाहसंस्कारमा सहभागीहरुले ब्यहोर्नुपरेको दुःखलाई मध्यनजर गर्दै परिकल्पना गरिएको बैकुण्ठधाम सिधनियाघाटको योजनालाई सार्थक बनाउन आयोजना गरिएको बैकुण्ठधाम आध्यात्मिक महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ ।
कार्तिक २२ गतेबाट ३० गतेसम्म संचालन हुने महोत्सवलाई ब्यवस्थित बनाउन सबै बर्ग, क्षेत्र, धर्म र समुदायलाई समेटेर २ हजार बढी सदस्य रहेको मूल समिति र त्यस अन्तर्गत रहनेगरि १ सय १० बढी उप–समितिहरु गठन भएका छन् । सम्पूर्ण समितिहरुबाट महोत्सवका लागि आवश्यक सबै तयारी पुरा भएको जानकारी सम्बन्धित समितिका संयोजकहरुबाट जानकारी प्राप्त भएको छ ।
डुडुवा गाउँपालिका वडा नम्बर ५ सिधनियाघाटमा प्रस्ताव गरिएको बैकुण्ठधाम सिधनियाघाटको प्रचारप्रसार तथा धाम निर्माणलाई सबैको संलग्नता प्रदान गर्न बाचन शिरोमणी पण्डित दीनबन्धु पोखरेलको प्रमुख बाचन सहित उहाँको संगीतमय टोलीबाट १० दिनसम्म नेपालगन्जको रामलिला मैदानमा भागवत प्रवचन हुनेछ ।
महोत्सव तथा भागवत बाचनका बीचमा इच्छुक भक्तजनहरुबाट ब्रतबन्ध, चौरासीपूजा, तुलादान, गोप्यदान, रुद्री पूजन जस्ता अनुष्ठानहरु गर्ने गरि ब्यवस्था मिलाइएको छ । पण्डित पोखरेलले पूर्वीय संस्कार र विज्ञानलाई जोडेर संगीतमय बाचन गर्ने र सबै धर्मलाई समेट्ने बताउनु भयो ।
महोत्सवको पहिलो दिन आज रामलिला मैदानबाट बिभिन्न जाती, भाषा, धर्म र सम्प्रदायको झाँकीसहितको कलशयात्रा प्रराम्भ हुनेछ भने कलशयात्राको समापन संगै महोत्सवको उद्घाटन गरिनेछ ।
महोत्सवलाई सुरक्षित र ब्यवस्थित बनाउन महोत्सवस्थललाई पूर्णरुपमा सिसि क्यामेरा जडान गरिएका छन् भने खानेपानी, शौचालय, बिश्राम स्थलसहित प्रसाद वितरण, व्यवस्थित बसाई र वाटरप्रुफ पण्डालको ब्यवस्था गरिएको छ ।
महोत्सवमा दान गर्न चाहने इच्छुक दाताहरुलाई मर्यादा अनुसार रथारोहणदेखि बिशेष सम्मान प्रदान गरिने भएको छ । दानकर्ताको नाम बैकुण्ठधामको शिलालेखमा लिपिबद्ध गरि दानकर्ताहरुको योगदानलाई स्मरणीय बनाइने छ । महोत्सवको तयारीकै क्रममा दाताहरुबाट दान प्राप्त हुने क्रम पनि सुरु भइसकेको छ ।
अहिलेसम्ममा ४९ लाख बढी संकलन भइसकेको छ भने धेरै दाताहरु सम्पर्कमा रहनुभएको आर्थिक समितिले जनाएको छ । दानलाई पारदर्शी बनाउन क्युआर, नगदी रसिद र बैंक खातामा सिधै जम्मा हुने ब्यवस्था गरिएको छ ।
गैरनाफामुलक र बैकुण्ठधाम निर्माणको प्रमुख उद्देश्य सहित गठन भएको बैकुण्ठधाम सिधनियाघाटले प्रस्ताव गरेको धाम निर्माणमा सबैको योगदानको अपेक्षा गरिएको संयोजक डा. सुरेशकुमार कनोडियाले बताउनु भयो ।