तिहारमा सेलरोटी बिक्री गरेर एक लाख आम्दानी
Saturday, November 9th, 2024, 6:58 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २४ कात्तिक
नेपालगन्ज–१० आदर्शनगर निवासी रिता गुरुङ वैदेशिक रोजगारीबाट फर्किएर अहिले स्वदेशमै उद्यममा लाग्नुभएको छ । उहाँले दुई वर्षदेखि सेलरोटी बनाइ बिक्री गर्दै आउनुभएको छ । उहाँले भन्नुभयो, “म यही उद्यम गर्नमा रमाइरहेको छु । सेलरोटी नेपालगन्जका होटल र क्याफेमा बिक्री हुने गरेका छन् ।”
दैनिक रुपमा मागअनुसार ५० देखि एक सय सेलरोटी पकाएर बिक्री वितरण गर्ने गरेको उहाँ बताउनुहुन्छ । अन्य समयमाभन्दा दसैँ तिहारमा रोटी पकाउन भ्याइनभ्याइ हुने गरेको उहाँको भनाइ छ ।
“अन्य बेलाभन्दा दसैँतिहारलगायत चाडपर्व र कार्यक्रममा सेलरोटीको माग बढी हुने गरेको छ”, उहाँले भन्नुभयो, “सेलरोटीका लागि अहिले नेपालगन्ज बाहिर कोहलपुर, खजुरा, राँझा विमानस्थलबाटसमेत माग भइरहेको छ ।”
केही समय वैदेशिक रोजगारीको सिलसिलामा खाडीमुलुक कुवेत गएर फर्कनुभएकी गुरुङले यो वर्षको तिहारमा सेलरोटी, फिनी रोटी र झिनिया बिक्री गरेर रु एक लाखभन्दा बढी आम्दानी गर्नुभएको छ ।
गुरुङले यो तिहारमा लागि झिनिया (सिन्कामारी), फिनी, सेल तथा बतासा रोटी बनाएर बिक्री गरेको बताउनुभयो । “मैले प्रत्येक वर्ष तिहारका लागि झिलिङ्गा (सिन्कामारी), फिनी, सेल तथा बतासा रोटी बनाउने गरेको छु, ग्राहक यहीँ आउनुहुन्छ”, गुरुङले भन्नुभयो, “एकपटक आएका ग्राहक बारम्बार आउने गर्नुभएको छ ।”
यो वर्षको तिहारमा झिनिया (सिन्कामारी) रोटी प्रतिगोटा रु ३०, फिनीरोटी प्रतिगोटा रु ४०, सेलरोटी प्रतिगोटा रु ३० र बतासा रोटी प्रतिगोटा रु १५ मा बिक्री गर्ने गरेको गुरुङले बताउनुभयो । सिजनको समयको रोटी व्यवसायले राम्रो आम्दानी हुनुका साथै घरखर्च गर्न निकै सहज भएको उहाँको भनाइ छ ।
“म केही वर्षअघि रोजगारीका लागि विदेशसमेत गएर फर्के, विदेशमा काम गर्न अत्यन्तै गाह्रो हुँदोरहेछ, आफूले सोंचेको र भनेको जस्तो नहुँदो रहेछ”, गुरुङले भन्नुभयो, “विदेशमा दुःख पाउनुभन्दा बरु आफ्नै देशमा फर्केर सानोतिनो भए पनि केही काम गर्छु भनेर नेपाल फर्के, यहाँ अहिले आफ्नै मेहनतले राम्रै आम्दानी भएको छ ।”
विदेशबाट फर्केर खोलेको खाजा नास्ता पसलसँगै सेलरोटी बनाउने उद्यमले अहिले रिताले आफ्नो घरपरिवार पाल्नेदेखि छोराछोरीको पढाई खर्च जुटाउनुभएको छ । “खाजा नास्तासँगै चाडबाडमा त्यसमा पनि तिहारका बेलामा रोटी बिक्रीबाट राम्रो आम्दानी पनि भइरहेको छ, अहिले त अर्डर पु¥याउन पनि गाह्रो भइरहेको छ, बिहानैदेखि रातिसम्म रोटी बनाउन भ्याइनभ्याइ छ”, उहाँले भन्नुभयो, “यो तिहारमा राम्रै बिक्री भयो, ठ्याक्कै हिसाब त गरेको छैन तर एक लाखभन्दा धेरै नै आम्दानी भयो ।”
रोजगारीका लागि भौतारिएर ठूलो रकम खर्च गरेर विदेश जानभन्दा सानोतिनो लगानीमा स्वदेशमै केही उद्यम व्यवसाय गर्नसके विस्तारै राम्रो आम्दानी हुने उहाँको भनाइ छ । उहाँको सेलरोटी पसलमा ग्राहकको बिहानैदेखि खचाखच हुने गरेको छ ।