आचार्यको संयोजकत्वमा नेविसंघको विधान संशोधन समिति गठन
Monday, November 11th, 2024, 6:17 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २६ कात्तिक
नगेन्द्र प्रसाद आचार्य(एनपी)को नेतृत्वमा नेपाल विद्यार्थी संघ(नेविसंघ)को विधान संशोधन एवम् परिमार्जन समिति गठन गरिएको छ । संयोजकको जिम्मेवारी पाएका जुम्लाका आचार्य नेपाल विद्यार्थी संघको केन्द्रिय सदस्य हुन् ।
नेपाल विद्यार्थी संघको १२औं महाधिवेशन तोकिएकै समयसिमा भित्र सम्पन्न गर्ने उद्देश्यले गठन गरिएको विधान संशोधन एवम् परिमार्जन समितिको सदस्यहरुमा मोरङका विवेक लिम्बु, तनहुँका राजेश कुमार श्रेष्ठ, बर्दियाका इ. सुनिल शाही र कपिलवस्तुकी मन्जु विश्वकर्मा रहेका छन् ।
नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले संघको विधान २०२७(संशोधन सहित) मा व्यवस्था भएका प्रावधानहरु समयानुकुल संशोधन एवम् परिमार्जन गर्नको लागि नेपाल विद्यार्थी संघको प्रमथ ऐतिहासिक बैठकद्धारा सर्वसम्मतले पारित निर्णयलाई कार्यान्वनय गराउन समिति गठन गरेको बताउनु भएको छ ।
संयोजकको जिम्मेवारी पाएपछि आचार्यले तोकिएको समयमा संघको विधान आम युवाहरुको मनोभावनालाई सम्बोधन गर्ने गरी परिमार्जन गर्ने प्रयास गर्ने बताउनु भएको छ ।