दीपक मनाङे कारागार चलान
Tuesday, November 12th, 2024, 7:40 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाण्डौँ, २७ कात्तिक
ज्यान मार्ने उद्योग कसुरमा पक्राउ परेका (दीपक मनाङे) राजीब गुरूङ कारागार चलान भएका छन् ।
काठमाडौं जिल्ला अदालतले मंगलबार उनलाई डिल्लीबजार कारागारमा जेल चलान गरेको सूचना अधिकारी मेलिश बाँस्कोटाले जानकारी दिए ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मंगलबार बिहान सितापाइलास्थित एक घरबाट पक्राउ गरेको थियो । सिआइबीले उनलाई पक्राउ गरी अदालतका फैसला कार्यान्वयन अधिकारीसमक्ष पेश गरेसँगै उनी जेल चलान भएका हुन् ।
कात्तिक २० गते सर्वोच्च अदालतले गण्डकी प्रदेश सभा सदस्य राजिब गुरूङ ‘दीपक मनाङे’ लाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो ।
२०६१ वैशाख ३१ गते ‘चक्रे मिलन’ (मिलन गुरूङ) को हात छिन्ने गरी तरबार प्रहार गरेको घटनामा उनलाई सर्वोच्च अदालतले दोषी ठहर गरेको हो ।
सर्वोच्च अदालतका न्यायाधीशहरू नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले तत्कालीन पुनरावेदन अदालत (हाल उच्च अदालत पाटन) को फैसलालाई गत मंगलबार सदर गरेपछि यो मुद्दा टुंगिएको हो ।
यसअघि नै उनी २ वर्ष ८ महिना जेल बसिसकेका छन् । त्यो अवधि घटाएर बाँकी समय उनी जेल बस्नुपर्ने हुन्छ । मनाङे अब पाँच वर्षमा २ वर्ष ८ महिना घटाउँदा आउने दुई वर्ष चार महिना जेल बस्नुपर्ने हुन्छ ।
सर्वोच्चको आदेशपछि मनाङे सम्पर्कबिहीन भएका थिए । फैसला भएसँगै मनाङले आफ्नो मोबाइल अफ गरी सम्पर्कबिहीन भएका थिए ।
प्रहरीको विभिन्न निकायले उनको खोजी गरिरहेको थियो । केहीदिन अघि मात्रै मनाङेले विज्ञप्ति जारी गरी आफू अदालतको पूर्णपाठ आएपछि उपस्थित हुने बताएका थिए । त्यसैबीच प्रहरीले उनलाई पक्राउ गरेको हो ।