शर्माको अध्यक्षतामा लुम्बिनी प्रदेश हयाण्डबल संघ गठन
Friday, November 22nd, 2024, 6:34 pm
Kalpristha
जयन्त कुमार शर्माको अध्यक्षतामा लुम्बिनी प्रदेश हयाण्डबल संघको नयाँ कार्यसमिति गठन गरिएको छ । शर्मा पश्चिम नेपालमा ह्याण्डबल खेलको विकासमा सक्रिय भएर लागेका खेलकर्मी हुनुहुन्छ ।
नेपाल हयाण्डबल संघका केन्द्रिय सदस्य उमेश शर्मा बजगाईको अध्यक्षतामा भएको भेलाले शुक्रबार शर्माको नेतृत्वमा संघ गठन गरेको हो । हयाण्डबल संघको आगामी मंसिर महिनामा केन्द्रिय कार्यसमितिका लागि निर्वाचन हुँदैछ । त्यसअघि अहिले प्रदेश स्तरमा संघ गठन भैरहेको छ ।
शुक्रबार नेपालगन्जमा भएको एक भेलाले लुम्बिनी प्रदेश हयाण्डबल संघको कार्यसमितिको उपाध्यक्षमा खगेन्द्र बहादुर चन्द, नोखी रावत, सचिवमा सन्तोष लामिछाने र कोषाध्यक्षमा अजय कुमार श्रेष्ठ चयन गरेको छ ।
कार्यसमितिको सदस्यमा सागर गुरुङ, पार्वती गुरुङ, भगवती शर्मा, शंकर सापकोटा रहनु भएको छ । यसैगरी शुक्रबार नेपालगन्जमा भएको बैठकले केन्द्रिय प्रतिनिधिको पनि छनोट गरेको छ । केन्द्रिय प्रतिनिधिमा जयन्त कुमार शर्मा, खगेन्द्र बहादुर चन्द र नोखी रावतलाई छनोट गरिएको छ ।
नेपालगन्जमा भएको संघको भेलाको उद्घाटन सत्रमा प्रमुख अतिथिको रुपमा लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य जनक केसी, विशेष अतिथीको रुपमा सदस्य डिबी तामाङ र लुम्बिनी प्रदेश खेलकुद परिषदका निवर्तमान सदस्य सचिव भीम ओली लगायतको सहभागिता रहेको थियो ।