रेडक्रस पुरैनीको २० औं उप–शाखा सभा सम्पन्न
Friday, January 3rd, 2025, 7:54 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १९ पुस
नेपाल रेडक्रस सोसाइटी पुरैनी उप–शाखाको २० औं उप–शाखा सभा शुक्रवार सम्पन्न भएको छ । रेडक्रसको प्रवर्तक जाँ हेनरी ड्यूनाको तस्बीरमा मार्ल्यापण गरेर कार्यक्रमको उद्घाटन गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका उपमहासचिव राज कुमार वर्माले माल्यार्पण तथा ब्यानर वाचन गरी सभाको बिधिवत उद्घाटन गर्नुभएको थियो ।
उप–शाखाका सभापति शिव कुमार बर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा, वार्षिक प्रगति प्रतिवेदन २०८०/०८१ सहसचिव मीरा अधिकारीले प्रस्तुत गर्नुभएको थियो भने २०८०/०८१ को प्रतिवेदन कार्य समिति महिला सदस्य सुमित्रा मल्लले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम तथा आर्थिक वर्ष २०८०/०८१ मा २ लाख ७४ हजारको खर्च बिवरण प्रस्तुत गरिएको छ ।
कार्यक्रममा विशिष्ट अतिथि नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोर्बधन सिंह सम्झना, केन्द्रीय पूर्व उपाध्यक्ष अजीत कुमार शर्मा, वडा नं–२२ का निवर्तमान वडाध्यक्ष बिद्याराम वर्मा, नेरेसो पुरैनी उप–शाखाका निर्वतमान सभापति फन बहादुर गुरुङ्ग, उप–शाखा आजीवन सदस्य तथा नेपाली काँग्रेस महाअधिबेशन प्रतिनिधि प्रमेश्वरी पाठक, नेपाली काँग्रेस नगरका कार्यबाहक सभापति धनराज वर्मा लगायतले सभाको शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको अवसरमा उप–शाखाका आजीवन सदस्य तथा शतक रक्तदाता नेपालगञ्ज १९ निवासी पवन जायसवाललाई रेडक्रस लुम्बिनी प्रदेशका उप–महासचिव वर्मा, बिशिष्ट अतिथि बाँके शाखा सभापति गोर्बधनसिंह सम्झना, केन्द्रीय पूर्व उपाध्यक्ष शर्मा, परैनी उपशाखाका सभापति वर्माले अबीर, गम्छासहित सम्मान–पत्र प्रदान गरी सम्मानित गर्नुभएको थियो ।
कार्यक्रममा सभाध्यक्ष वर्माले छिट्टै बृहत रक्तदानको आयोजना गर्ने बताउँदै उपशाखा बनाउनका लागि तत्कालिन वडा नं–२२ का वडाध्यक्ष बिद्यारामले सहयोग गर्नुभएको स्मरण गर्नुभयो । यस उप–शाखालाई तीन वटा वडा १९, २१ र २२ ले पुरैनी उप–शाखा सहयोग गर्दै आई रहेका छन् ।
आर्थिक वर्ष २०८०/०८१ को प्रगति विवरणअनुसार वडा नं–२२ नहरपुर्वामा आफ्नै उप–शाखा भवनमा कार्यालय खोली सञ्चालन गर्दै आएको छ । हालसम्म कार्य समितिको बैठकले गरेको निर्णयहरुलाई कार्यान्वयन गर्ने पूर्णरुपले प्रयास भएको छ ।
यस उपशाखा अन्तर्गत १ वटा सामुदायिकस्तरको युवा सर्कल र ३ वटा जुनियर सर्कल गठन भई सक्रिय रुपले काम गर्दै आई रहेको छ । यस उप–शाखाको नाममा साँग्रिला डेभलपमेन्ट बैंक नेपालगञ्जमा बचत खाता सञ्चालनमा रहेको छ ।
उप–शाखा अर्न्तगत वडा नं–२२ को पुरैनी, १९ बसुदेवपुर र २१ पुरैनामा अलग अलग प्राकृतिक प्रकोपबाट पिडित परिवारलाई सेवाहरु उपलब्ध गराउँदै आएको छ । यसमा आगलागी, बाढी पिडित र वर्षाबाट पिडित परिवारलाई लत्ता कपडा, भाडा, त्रिपाल, कम्बल, बाल्टी र अन्य सामग्रीहरु वितरण गरिएको छ ।
वडा नं–२२ को वडा कार्यालयको सहयोगमा बाउण्ड्रीभित्र निर्माण, १ थान मोटरपम्म जडान गरिएको छ । नेपालगञ्ज उप–महानगरपालिकाको सहयोगमा सिढी र रेलिङ्ग निर्माण गरिएको छ । वडा नं–२२ र १९ को सहयोगमा आयोजित रक्तदान कार्यक्रम कार्यक्रममा ४२ जनाले रक्तदान गरेका थिए ।
वडा नं–२१ द्वारा १ थान सोपा सेट उप–शाखालाई प्रदान गरिएको, उप–शाखाबाट १२ जनालाई आजीवन सदस्यता प्रदान गरिएको, लायन्स क्लब र साना किसान पुरैनीको सहयोग र उप–शाखाको समन्वयमा महिलाहरुका लागी पाठेघर शिविर सञ्चालन गरिएको, बिश्व रेडक्रस दिवसको अवसरमा आधारभूत बिद्यालय पुरैनीमा रेडक्रस अभियान सम्बन्धी कार्यक्रम सञ्चालन गरिएको थियो ।
आगामी आर्थिक वर्ष २०८१/०८२ को लागी प्रस्ताविक कार्यक्रम तथा लक्ष्यमा उप शाखामा आजीवन सदस्यता बृद्धि गरिने, बृहत रक्तदान कार्यक्रमको आयोजना गरिने, उप–शाखाद्वारा युवा सर्कल र जुनियर सर्कललाई रेडक्रस अभियान र नेतृत्व विकास तालिमको आयोजना गरिने, वडा नं.–२२ को पुरैनी, १९ बसुदेवपुर र २१ पुरैनाको सहयोगमा बिभिन्न कार्यक्रमहरु सञ्चालन गरिने, उप–शाखाद्वारा बिभिन्न रेडक्रस दिवसहरु भव्यताका साथ मनाइने उल्लेख छ ।
कार्यक्रममा रेडक्रस बाँके शाखा सभापति सम्झनाले धन कुमारी गोडियालाई आजीवन सदस्यता प्रमाण–पत्र वितरण गर्नुभएको थियो । कार्यक्रममा रेडक्रस शाखाकी सदस्य तथा आजीवन सदस्य खगेश्वरी रावतले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।