राप्तीसोनारीमा सहकारी उत्पादनमुखी बजारीकरण गोष्ठी सम्पन्न
Friday, January 3rd, 2025, 8:11 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
राप्तीसोनारी, १९ पुस
स्थानीय उत्पादनको सम्भावनालाई बृद्धि गर्ने उद्देश्यले बाँकेको राप्तीसोनारी गाउँपालिकामा शुक्रबार सहकारी उत्पादनमुखी बजारीकरण गोष्ठी सम्पन्न भएको छ । राप्तीसोनारी गाउँपालिका सहकारी समन्वय समितिको आयोजनामा भएको बजारीकरण गोष्ठीमा राप्तीसोनारी कृषक तथा सहकारीकर्मीहरुको सहभागिता रहेको थियो
सोनारी गाउँपालिकाको आर्थिक सहयोगमा भएको कार्यक्रममा राप्तीसोनारी गाउँपालिका सहकारी समन्वय समितिका संयोजक जमानसिंह वलीले राप्तीसोनारीको उत्पादन, बजार र भौगोलिक अवस्थाको बारेमा कार्यप्रगति प्रस्तुत गर्नु भएको थियो । गोष्ठीमा स्थानीय उत्पादनको अध्ययन र बजारीकरण गर्ने बारेमा छलफल भएको थियो । कार्यक्रममा प्रमुख अतिथीको रुपमा राप्तीसोनारी गाउँपालिका आर्थिक विकास समिति संयोजक मीन कुमार थारुले राप्तीसोनारीले कृषि क्षेत्रबाट धेरै आर्थिक आर्जन गर्न सक्ने सम्भावनाको बारेमा बताउनु भएको थियो ।
कार्यक्रममा राप्तीसोनारी गाउँपालिका वडा नम्बर ७ अध्यक्ष राम लखन थारु, कोहलपुर तरकारी बजारका व्यवस्थापक चित्रा पाठक, कर्णाली फिडका व्यवस्थापक धर्म प्रसाद पोखरेल लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा राप्तीसोनारी गाउँपालिकाका कृषि शाखा, पशु शाखाका कर्मचारीको पनि सहभागिता रहेको थियो ।
वडा अध्यक्ष थारुले राप्तीसोनारीमा कृषिको प्रचुर सम्भावना भएपनि यसको बारेमा गाउँपालिकाले सही ढंगले व्यवस्थापन गर्न नसकेको बताउनु भयो । उत्पादनलाई बढाउन नयाँ वहस गर्नु पर्ने उहाँले धारणा राख्नु भयो । गोष्ठीको समन्वय तथा व्यवस्थापन राप्तीसोनारी गाउँपालिका सहकारी तथा गैसस शाखा प्रमुख गंगा वलीले गर्नु भएको थियो भने कार्यक्रम संचालन राप्तीसोनारी गाउँपालिका सहकारी समन्वय समितिका उपाध्यक्ष गणेश खत्रीले गर्नु भएको थियो ।