बाँकेका शतक तथा उत्कृष्ट तीन रक्तदाता सम्मानित
Sunday, January 5th, 2025, 7:30 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
डुडुवा, २१ पुस
बाँकेका शतक तथा उत्कृष्ट तीन रक्तदाताहरु सम्मानित भएका छन् । जिल्लाको बाँकेको डुडुवा गाउँपालिकाले शतक तथा उत्कृष्ट रक्तदान गर्ने दातालाई आइतबार सम्मान गरेको हो ।
गाउँपालिकाले आफ्नै कार्यालयमा आयोजना गरेको बृहत रक्तदान कार्यक्रमको अवसरमा रक्तदाताहरु गोपीनाथ बैश्य, सरिता ज्ञवाली र पवन जायसवाललाई सम्मान प्रदान गरेको छ । गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरी र उपाध्यक्ष साहिदा बानोले संयुक्तरुपमा उहाँहरु तीनै जनालाई सम्मान गर्नुभएको थियो ।
नेपालमा नमूना रक्तदाताका रुपमा आफूहरुलाई बनाउन सफल हुनुभएको भन्दै उहाँहरुलाई दोसल्ला तथा सम्मानपत्रमार्फत गाउँपालिकाले सम्मानित गरेको हो । गाउँपालिका अध्यक्ष चौधरीले कल्पनाभन्दा बाहिर गएर रक्तदान गरी बाँकेबासी देशमै उदाहरणीय व्यक्ति बनेकोप्रति सम्मान रहेको बताउनुभयो ।
‘यस्ता व्यक्तिहरुलाई सबैले सम्मान गर्नुपर्छ, उहाँहरुको जस्तो सक्रियता, लगन र त्याग अन्यमा कम हुन्छ ।,’ अध्यक्ष चौधरीले भन्नुभयो, ‘निरन्तरको सक्रियता र सामाजिक कार्यप्रतिको लगावका कारण उहाँहरु आफूलाई यहाँसम्म ल्याउन सक्नुभएको छ । तीनै जनालाई हार्दिक सम्मान छ ।’
बैश्य र जायसवाल शतक रक्तदाता हुनुहुन्छ । बैश्यले १ सय ७६ पटक रक्तदान गर्नुभएको छ भने संचारकर्मीसमेत रहनुभएका जायसवालले १ सय २ पटक रक्तदान गर्नुभएको छ । यस्तै ज्ञवाली उत्कृष्ट रक्तदाताका रुपमा बाँकेमै सबैभन्दा बढी रक्तदान गर्ने महिला हुनुहुन्छ । उहाँले ७६ पटक रक्तदान गर्नुभएको छ ।
आफूहरुले नियमित रक्तदान सम्मान पाउनका लागि नभएर सानो प्रयासले कसैको ज्यान जोगिन्छ भनेर रक्तदान गर्दै आएको शतक रक्तदाता जायसवालले बताउनुभयो । यस्ता सम्माले अन्यलाई पनि रक्तदान गर्न प्रेरित गर्ने शतक रक्तदाता जायसवालको भनाई छ ।
‘यस्तै कार्यक्रमबाट प्रेरणा मिलेर नै मैले नियमित रुपमा रक्तदान गर्दै आएको छु ।,’ शतक रक्तदाता जायसवालले भन्नुभयो, ‘मभित्र कुनै प्रकारको समस्या नहुँदासम्म रक्तदान गरिहरने छु र स्वस्थ व्यक्ति सबैले तीन तीन महिनामा रक्तदान गर्न जरुरी छ ।’