बर्दिया अस्पतालमा एकैदिन १४ जना बिरामीको मेजर शल्यक्रिया
Monday, January 6th, 2025, 7:40 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २२ पुस
बर्दिया अस्पतालमा एकैदिन १० घण्टा लगाएर १४ जना बिरामीको मेजर शल्यक्रिया गरिएको छ । पाठेघर सम्बन्धि समस्या भएर भर्ना भएका १४ जना बिरामीको एकैदिन १० घण्टा लगाएर अस्पतालले मेजर शल्यक्रिया गरेको जनाएको छ ।
विशेषज्ञ चिकित्सकसहितको १६ जनाको समूहले सफलतापूर्वक शल्यक्रिया गरेको अस्पतालका मेडिकल सुपरिडेन्ट डा.सुभाष पाण्डले जानकारी दिनुभयो । पाठेघर खसेका र पाठेघरमा मासु पलाएका १४ जना पीडित बिरामीहरुको शल्यक्रिया गरिएको हो ।
एकैदिन १४ जनाको मेजर शल्यक्रिया भएको अस्पतालमा यो पहिलो रेकर्ड भएको पनि मेसु पाण्डेले बताउनुभयो । उहाँका अनुसार सीमित स्रोत साधनका बाबजुद यो कार्य गर्न अस्पताल सफल बनेको हो । पाठेघर सम्बन्धि समस्या रहेका गुलरिया नगरपालिकाका ९ जनाको शल्याक्रिया भएको छ ।
यस्तै बारबर्दिया, ठाकुरबाबा, राजापुर नगरपालिका नगरपालिका, बढैयाताल गाउँपालिकाकी एक÷एक जना र कैलालीको लम्कीचुहा नगरपालिकाकी एक बिरामीको शल्यक्रिया गरिएको मेसु पाण्डेले बताउनुभयो । १३ जनाको पुर्णरुपमा निःशुल्क र एक जनाको न्युनतम शुल्क लिएर शल्यक्रिया सेवा प्रदान गरेको अस्पतालले जनाएको छ ।
शल्यक्रिया भएका बिरामीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । सकेसम्म उनीहरुलाई बुधबारसम्म डिस्चार्ज गर्ने तयारी गरिएको मेसु पाण्डेले बताउनुभयो ।
‘अस्पतालमा शल्यक्रिया त भईरहन्छ मेसु पाण्डेले भन्नुभयो–‘तर यति धेरै एकैदिन, त्यो पनि बिदाको दिनमा शल्यक्रिया भएको यो पहिलो पटक भएको हो ।’
सीमित स्रोत साधनका बाबजुत पनि एकैदिनमा १४ जनाको मेजर शल्यक्रिया गर्न सफल भएका छौं मेसु डा.पाण्डेले भन्नुभयो । अस्पतालसँग पर्याप्त जनशक्ति नहुँदा कोहलपुरबाट थप बिशेषज्ञ चिकित्सक झिकाएर सेवा प्रदान गरिएको पनि उहाँले बताउनुभयो ।
‘बर्दिया अस्पतालसँगको मौज्दात जनशक्ती र कोहलपुरबाट ल्याईएको जनशक्ति मिलेर मेजर शल्यक्रिया गर्न सफल भएको हौं मेसु पाण्डेले भन्नुभयो,े–‘जनशक्ती सम्भव भए सेवालाई वृहत्तर बनाउने योजना छ ।’ आगामी माघ महिनाको तेस्रो शनिबार पनि शल्यक्रिया सेवा प्रदान गर्ने तयारी भइरहेको मेसु डा. पाण्डेले बताउनुभयो ।
मेजर शल्यक्रियामा कोहलपुरबाट वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा.कविता पाण्डे, स्त्रीरोग विशेषज्ञ डा.होमनाथ अधिकारी र बर्दिया अस्पतालका वरिष्ठ एनेस्थेसियोलोजिस्ट डा.दिपेन्द्र महासेठ लगायत चिकित्सक, नर्सिङ तथा स्वास्थ्यकर्मी टोलि खटिएको थियो ।
आफ्नै गाउँठाउँमा निःशुल्क शल्यक्रिया सेवा पाएपछि विरामीहरु खुसी भएका थिए । गुलरिया नगरपालिका–९ की पेपली गोडियाले अस्पतालले निःशुल्करुपमा शल्यक्रिया सेवा दिएको भन्दै खुसी व्यक्त गर्नुभयो । ‘अस्पतालमा उपलब्ध औषधी पनि निःशुल्क पाएकी छु गोडियाले भन्नुभयो, ‘अस्पतालमा नपाएको औषधी मात्र बाहिरबाट किनेर ल्याए ।’
अस्पतालले निःशुल्क शल्यक्रिया सेवा दिएर खर्चबाट जोगिएको बढैयाताल गाउँपालिका वडा नम्बर ६ की ७१ वर्षीया ईसुमति थारुले बताउनुभयो । पाठेघर सम्बन्धि समस्याको बाहिर गएर शल्यक्रिया गराउँदा बिरामीले कम्तीमा ५० हजार खर्च व्यहोर्नु पथ्र्यो । तर आफ्नै घर गाउँठाउँमा रहेको अस्पतालमा जटिल समस्याको निःशुल्क रुपमा उपचार पाउँदा उनीहरु खुसी देखिन्थे ।