मिडियाको संस्थागत विकासमा हामी सहकार्य गछौंः नगरप्रमुख आचार्य
Tuesday, January 7th, 2025, 7:03 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
कोहलपुर, २३ पुस
कोहलपुर नगरपालिकाले नेपाल पत्रकार महासंघ बाँकेको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सम्मान गरेको छ । कोहलपुर नगरपालिकामा भएको कार्यक्रममा बाँकेबाट नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशमा निर्वाचित पदाधिकारी, सदस्य तथा पार्षदहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख पुर्णप्रसाद आचार्यले महासंघसँग संस्थागत रुपमा सहकार्य गर्दै पत्रकारहरुको व्यवसायिक विकास सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
उहाँले भन्नु भयो,‘ नेपाल पत्रकार महासंघ बाँकेसँग हामीले विगतदेखि नै संस्थागत रुपमा सहकार्य गर्दै आएको छौं । मिडियाको क्षेत्रमा अन्य धेरै कुराहरु गर्न बाँकी छ । त्यसको लागि एउटा कार्यविधि बनाएर अगाडी बढनु पर्नेछ ।’
समाचारको विषयलाई लिएर पत्रकारसँग कोहलपुर नगरपालिकाले कुनै आग्रह–पुर्वाग्रह नराखेको बताउँदैं प्रमुख आचार्यले सकारात्मक आलोचनाले आफुहरुलाई सहयोग गर्ने बताउनु भयो । उहाँले भन्नु भयो,‘एउटा पत्रकारले गलत गर्दैमा सिंगो पत्रकारिता जगतलाई हेर्ने दृष्टिकोण उही हुनु हुदैंन । कुनै एउटा जनप्रतिनिधिले गरेको गल्तीलाई हेरेर सिंगो जनप्रतिनिधिलाई हेर्ने नजर उही हुनु हुदैंन् ।’
कोहलपुर नगरपालिकाले हरेक वर्ष आफनो बजेटमा पत्रकारिताको विकासमा बजेट छुटयाउने गरेको बताउँदै आचार्यले यसलाई निरन्तरता दिने बताउनु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरीले कोहलपुर नगरपालिकालाई धन्यवाद दिदैं सहकार्यलाई अझ बलियो बनाएर जानु पर्ने बताउनु भयो । उहाँले भन्नु भयो,‘कोहलपुर नगरपालिकाले विगतदेखि पत्रकारहरुसँग संस्थागत रुपमा सहकार्य गर्दै आएको छ । आगामी दिनमा यसलाई अझ बलियो र प्रभावकारी बनाएर जानु पर्छ । स्थानीय मिडियाको उत्थान र पत्रकारहरुको विकासमा कोहलपुर नगरपालिकाले फराकिलो छाती बनाएर काम गर्ने हामीले विश्वास लिएका छौं ।’
पत्रकारिताको आंचार संहितालाई उल्घन गर्दै मिडियालाई बदनाम गराउने पत्रकारलाई महासंघले संरक्षण नगर्ने अध्यक्ष गिरीले बताउनु भयो । उहाँले भन्नु भयो, ‘जनप्रतिनिधिहरुको राम्रा कुरालाई प्रशंसा गर्दै तथ्यमा आधारित समालोचना हामीले गर्ने हो । गलत नियतले मिडियामा प्रवेश गरेका व्यक्तिले आम पत्रकारितालाई बदनाम गराउने काम गरेका छन् । पत्रकारको नाममा गलत अभ्यास गर्नेलाई संरक्षण गर्नु हुँदैन् ।’
कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मान बहादुर गिरीले स्थानीय सरकारलाई सही बाटोमा लग्नको लागि सुशास, जवाफदेहितामा पत्रकारहरुले सधै सचेत गराईरहनु पर्ने बताउनु भयो ।