प्रथम खो खो विश्वकपमै सहभागिता जनाउँदै नेपाल
Wednesday, January 8th, 2025, 6:01 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, २४ पुस
कम सुनिने ‘खो खो’ खेलमा नेपालको छलाङ राम्रो छ । त्यसैले प्रथम खो खो विश्वकपमै नेपालले सहभागिता जनाउन सफल भएको छ । प्रतियोगितामा नेपालका महिला र पुरुष दुवै टोलीले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।
जनवरी १३ देखि १९ गतेसम्म भारतको नयाँ दिल्लीमा हुने प्रथम खो खो विश्वकप २०२५ मा नेपालसहित कूल २४ राष्ट्रको सहभागिता हुनेछ । यस खेलको एकैपटक महिला र पुरुषको विश्वकप हुन लागेको हो ।
खो खो मा विशेष गरी दक्षिण एसिया र एसियाकै टिमहरूको बाहुल्यता रहेको छ । खो खो विश्वकपमा दक्षिण एसियाका माल्दिभ्सबाहेक बाँकी ६ वटै टिमले सहभागिता जनाउँदैछन् भने एसियाबाट इन्डोनेसिया, इरान, मलेसिया, दक्षिण कोरियाले पनि खेल्दैछन् ।
नेपाल खो खो संघका अध्यक्ष प्रदीप महर्जन खो खो विश्वकप खेल्नु गर्वको विषय भएको बताउँछन् । महर्जनले विश्वकपको तयारी र क्लोज क्याम्पका लागि २० लाख रुपैयाँ जति खर्च भएको बताए ।
नेपाल खो खो संघले खो खो विश्वकपका लागि कीर्तिपुरस्थित कभर्ड हलमा एक महिना क्लोज क्याम्प सञ्चालन गरेको थियो । राष्ट्रिय टिम तयारी समितिले बन्द प्रशिक्षणबाट महिला र पुरुषको १५–१५ जनाको राष्ट्रिय टिम छनोट गरेको हो ।
राष्ट्रिय टिम तयारी समितिका संयोजक एवं नेपाल खो खो संघका महासचिव शंकर महर्जनका अनुसार पुरुषतर्फ हेमराज पनेरुको नेतृत्वमा तथा महिलातर्फ सरस्वती कडायतको कप्तानीमा १५ खेलाडीहरू छनोट गरिएको छ ।
खो खो विश्वकपमा नेपालबाट खेलाडी र अफिसियल गरेर ४० भन्दा बढी जाँदैछन् । जसमा महिला र पुरुष टिमका १५–१५ सदस्य छन् । यस्तै, दुवै टिममा २–२ जना प्रशिक्षक र समान १ व्यवस्थापक छन् ।
अध्यक्ष महर्जनका अनुसार विश्वकप जाने टोलीमा एकजना सेफ दी मिसन र चार निर्णायक पनि छन् । यसबाहेक संघका अध्यक्ष, उपाध्यक्ष र महासचिव पनि भारतको नयाँदिल्ली जाँदैछन् ।
नेपाल पुरुष खो खो टिम ः हेमराज पनेरु (कप्तान), जनक चन्द, समीर चन्द, विश्वास चौधरी, सूरज पूजारा, रोहित कुमार वर्मा, यमन पुरी, वेदबहादुर वली, झलक विक, विकराल सिंह रत्गैया, विशाल थारु, राजन बल, जोगेन्द्र राना, भरत सारु, गणेश विश्वकर्मा ।
नेपाल महिला खो खो टिम ः सरस्वती कडायत (कप्तान), मानमती धामी, पुजा ओड, आशा थारु, दीपा बिक, निशा शाही, कर्माकुमारी शाही, कन्चन चौधरी, पुनम थारु, सम्झना विक, दीपाकुमारी बिक, खुश्बु राना, वर्षा पण्डित, गीता चौधरी, अनिसा गोले ।