रवि फेरि प्रहरी परिसरमा
Sunday, January 12th, 2025, 7:16 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौँ, २८ पुस
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने फेरि प्रहरी परिसरमा पुगेका छन् । आइतबार रवि प्रहरी परिसर काठमाडौँको हिरासतमा पुगेका हुन् । काठमाडौँ जिल्ला अदालतको आदेश लगत्तै उनलाई प्रहरी परिसर काठमाडौँको हिरासतमा लगिएको हो ।
अदालतको ढोकाबाट सलाम गर्दै रवि बाहिर निस्किएका थिए । जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई प्रहरीको जिम्मा लगाउने आदेश दिएको हो ।
थुनछेक बहस नभएपछि रविलाई प्रहरीको जिम्मा लगाउने आदेश दिइएको हो । काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीमा जिल्ला अदालतमा उपस्थित भएका सभापति रविलाई प्रहरीको जिम्मा लगाउने आदेश भएको हो ।
आइतबार बिहानै अदालत उपस्थित भएमा रास्वपाका सभापति लामिछानेको दिनभर बयान चलेको थियो । लामिछानेको बयान सकेर अदालतमा बहसका लागि वरिष्ठ अधिवक्ता सुशील पन्त र रमण श्रेष्ठ पुगेका थिए । तर सरकारी पक्षले आफूहरूले लामिछानेको बयान अध्ययन नगरेकाले आइतबार बहस गर्न नसक्ने भनि इजलासमा उठाएपछि न्यायाधीशले यस्तो आदेश गरेका हो । जिल्लाको यो आदेशपछि पोखराबाट धरौटीमा रिहा भएका लामिछाने हिलो न्यायिक हिरासतमा जाने भएको हो ।
गत बिहीबार कास्कीको सूर्यदर्शन सहकारी ठगीमा धरौटीमा रिहा भएका लामिछानेविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा मुद्दा दर्ता भएको थियो । सोही मुद्दाको बयानका लागि लामिछाने आइतबार आफैं अदालत हाजिर भएका थिए ।
रास्वपा अनुशासन आयोगका पूर्वउप्रमुख समेत रहेका अधिवक्ता यज्ञमणी न्यौपानेका अनुसार आइतबार थुनछेक बहस नभएपछि इजलासबाट प्रहरीकै जिम्मा लगाउने आदेश भएको हो ।
उनका अनुसार, परिवार वा सरकारी वकिलको जिम्मा रविलाई छाड्न न्यायाधीश अधिकारीसँग आग्रह गरिएको थियो । यद्यपि उनले उक्त प्रचलन नभएको भन्दै न्यायाधीश अधिकारीले प्रहरीकै जिम्मा लगाइदिएका हुन् । न्यौपानेका अनुसार आज बिहान ११ बजेबाट थुनछेक बहस सुरु हुनेछ ।