राप्ती सोनारीले बढायो भूमिहीन जग्गा पुर्जा वितरण प्रक्रिया
Wednesday, February 5th, 2025, 10:31 am
Kalpristha
कालपृष्ठ समाचारदाता
राप्ती सोनारी, २२ माघ
बाँकेको राप्ती सोनारी गाउँपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई लालपुर्जा उपलब्ध गराउने प्रक्रिया बढाएको छ । पालिकामा लामो समयदेखि बसोबास गरिरहेका लक्षित समुदायलाई लालपुर्जा उपलब्ध गराउन भूमि आयोग बाँकेसंग आवश्यक सहकार्य गर्दै लालपुर्जा बितरण गर्ने प्रक्रियालाई बढाएको हो ।
त्यसका लागि सोमबार पालिका कार्यालयमा सम्बन्धित सरोकारवालाबीच आवश्यक प्ररामर्शसमेत गरिएको छ । पालिकास्तरिय भुमी सहजीकरण समितिका संयोजक एवं राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलको अध्यक्षतामा भएको प्ररामर्शमा लालपुर्जा बितरण कार्यलाई सहज बनाउन आवश्यक सल्लाह सुझावसमेत संकलन गरिएको छ ।
गाउँपालिका क्षेत्रभित्र रहेका जनतालाई आफ्नो जग्गाको जग्गा धनी प्रमाण पूर्जा उपलब्ध गराउने विषयमा प्ररामर्श बैठक बसिएको गाउँपालिका अध्यक्ष पौडेलले जानकारी दिनुभयो । बैठकमा सरोकारवालाबीच सहकार्य गरेर जाने बिषयमा गहन छलफल भएको उहाँले बताउनुभयो । पालिकामा रहेका लक्षित समुदायका लागि हामीले गर्नुपर्ने जिम्मेवारी निर्वाह गर्नका लागि सबै एकमत हुनुपर्छ, बैठकमा अध्यक्ष पौडेलले भन्नुभयो, बरु निर्माणका कार्य एक वर्ष नभएनि हुन्छ, तर हामीले बिगतमा भनेको यो काम गर्नका लागि सबै सरोकारवाला संयुक्त रुपमा लागौं ।
उहाँले पालिकामा आवश्यक भएका विद्यालयका भवन, बाटोघाटो संघले बनाईदिन प्रतिनिधिसभा सदस्य सुर्य ढकाल र प्रदेश सभा सदस्य कृष्णा केसी (नमूना)लाई बनाईदिन आग्रह गर्दै पालिकाका सबै जनप्रतिनिधि यो काममा लाग्न जोड दिनुभयो ।
प्रतिनिधि सभा सदस्य ढकालले समुदाय व्यवस्थापनका लागि आफ्नो सहयोग रहने बताउँदै इतिहासमा पाना पल्टाउँदा आफुहरुको नाम लेखिन गरी लाग्न अनुरोध गर्नुभयो । २०६६ देखि यो गर्नका लागि कार्यहरु सुरु गरिएको भएपनि अब आएर यसलाई सफल बनाउन तपाई हामीको सक्रियता रहेको प्रतिनिधि सभा सदस्य ढकालको भनाई थियो ।
प्रतिनिधि सभा सदस्य केसीले राप्ती सोनारी गाउँपालिकाबाट नै लक्षित समुदायलाई जग्गा पुर्जा बितरण गर्ने सुरुवात गरेर बाँँकेकै नेतृत्व गाउँपालिका गर्नमा जोड दिनुभयो । यसका लागि आफुले गर्न सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
प्ररामर्श बैठकले वडा नं ३, ४ र ७ बाट यो कार्य प्रकृया अगाडी बढाउने निर्णय गरेको छ । यसका साथै गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुले जग्गा धनी प्रमाण पूर्जा प्राप्त गर्ने र वितरण प्रक्रियामा सबैको साथ र सहयोग रहने सहमति जनाएका छन् ।
जिल्ला भूमि आयोग बाँकेका अध्यक्ष घननाथ खनालको विशेष उपस्थिति रहेको सो बैठकमा, गाउँपालिका उपाध्यक्ष मनिषा सिंह थारु, नापी कार्यालय बाँकेका प्रमुख गुणेश्वर यादव, वडा नम्बर १ का अध्यक्ष याम बहादुर खडका, २ का विर्ख बहादुर बुढाथोकी, ३ का मिन बहादुर थारु, ५ का सगरु थारु, ६ का लवराज खरेल र ७ का राम लखन थारु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, विभिन्न राजनितिक पार्टीका पालिका सभापति तथा प्रतिनिधिको उपस्थिति रहेको प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडीले जानकारी दिनभुयो ।