ओपनरले उत्कृष्ट ब्याटिङ गरेपछि टाईगरको सहज जित
Thursday, February 6th, 2025, 8:24 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २४ माघ
ओपनरले उत्कृष्ट ब्याटिङ गरेपछि नेपालगन्जमा जारी मेयर कप क्रिकेटमा बिहिबार नेपाल टाईगर स्पोर्टस क्लबले सहज जित हासिल गरेको छ ।
नेपाल टाईगरले युवा सचेतनालाई १० विकेटले हराउँदै जित हासिल गरेको हो । मंगलप्रसाद माविको खेल मैदानमा सुरुआतमा टस जितेर ब्याटिङ गरेको युवा सचेतनाले १९.२ ओभरमा १० विकेटको नोक्सानीमा १ सय १२ रन बनाएको थियो ।
टोलीका लागि इरफान खानले ३८ रन र सिराजुद्धिन खानले २२ रन बनाउनु भएको थियो । नेपाल टाईगरका जन्नु कसगर, सुरत दास, सैजादे खानले समान २–२ विकेट लिनु भएको थियो ।
जवाफमा ओपनरद्धय समसुद्धिन अन्सारीले अविजित रहँदैं ८४ रन र साहिल अन्सारीले २२ रन बनाएपछि नेपाल टाईगरले सहजै जित हासिल गरेको थियो । उत्कृष्ट ब्याटिङ गरेका ओपनर समसुद्धिन खेलमा प्लेयर अफ द म्याचबाट पुरस्कृत हुनु भयो ।
बाँके जिल्ला क्रिकेट संघको आयोजनामा भैरहेको प्रतियोगितामा पुरुष तर्फ २५ र महिला तर्फ ६ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको पुरुष तर्फको विजेताले ७५ हजार, उपविजेताले ३५ हजार पाउनेछ । यसैगरी महिला तर्फको विजेताले २५ हजार र उपविजेताले १५ हजार पाउनेछ ।