लुम्बिनी कप महिला फुटबलको तयारीमा तिव्रता
Monday, February 10th, 2025, 8:21 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २८ माघ
नेपालगन्जमा लुम्बिनी कप राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजनाको तयारी तिव्ररुपमा अघि बढिरहेको छ ।
बाँके जिल्ला फुटबल संघको सहकार्यमा अन्तरालले नेपालगन्ज रंगशालामा आगामी फागुन १९ गतेदेखि २९ गतेसमम प्रतियोगिता आयोजना गर्न लागेको हो ।
प्रतियोगितामा नेपाल र भारतका आठ टीमको सहभागिता हुने आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी दिनुभयो ।
प्रतियोगिताको लोगो सार्वजनिक भएसंगै यसको तयारीलाई तिव्रता दिइएको हो । लोगोमा शान्तिका अग्रदुत गौतम बुद्ध, महिला फुटबल खेलाडीको आकृति र नेपाली राष्ट्रिय झण्डाको निलो तथा सिम्रिक रातो रङ्ग समेटिएको छ ।
प्रतियोगितालाई उचित व्यवस्थापनका साथ सम्पन्न गर्न गठन गरिएका विभिन्न उपसमितिहरुले पनि आप्नो कामलाई तिव्रता दिएका छन् । आर्थिक उपसमिति, समन्वय उपसमिति, सांस्कृतिक उपसमिति, प्रचार प्रसार उपसमितिलगायतका उपसमितिहरुको दिनहुँजसो बस्ने बैठकले प्रतियोगिता व्यवस्थापनका पक्षलाई सूक्ष्मरुपमा अध्ययन गरेर कामलाई गति दिइरहेको अन्तरालका प्रमुख कार्यकारी शाहले बताउनुभयो ।
यसैगरी, लुम्बिनी कप महिला फुटबल प्रतियोगिता तयारीका बारे विशिष्ट व्यक्तिले चासो समेत व्यक्त गर्न थालेका छन् । प्रतियोगिता आयोजनाको उल्टो गन्ती शुरु भएसंगै केन्द्रदेखि जिल्ला तहसम्मका विशिष्ट व्यक्तिहरुले चासो व्यक्त गर्न थालेका हुन् ।
प्रतियोगिता आयोजनास्थल नेपालगञ्ज रंगशाला र त्यहा रहेको सचिवालयको स्थलगत अवलोकन गर्दै विशिष्ट व्यक्तिहरुले आवश्यक सहयोगका लागि आप्नो प्रतिबद्धता व्यक्त गरेका छन् ।
संघीय सरकारका पूर्व खेलकुद मन्त्री महेश्वर गहतराज अथक, बाँके क्षेत्र नं. ३ वाट निर्वाचित संघीय सांसद किशोरसिंह राठौर, लुम्बिनी प्रदेश सांसद कृष्णा केसी नमूना, राष्ट्रिय मानवअधिकार आयोगका पूर्व प्रवक्ता मोहना अन्सारीलगायतका विशिष्ट व्यक्तिहरुले प्रतियोगिता तयारीको अनुगमन गर्दै सहयोगको प्रतिबद्धता जनाउनुभएको हो ।
यस्तै, नेपाली कांग्रेस, बाँकेका सचिव सुधांशु कोइराला, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य रतन शाही, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष नरेन्द्र पौडेल, निमित्त सचिव रुद्रमणि न्यौपाने, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष दिपेन्द्रबहादुर सिंह र नेपाली कांग्रेसका कोषाध्यक्ष यज्ञ बस्नेतले पनि प्रतियोगिता तयारीको स्थलगत अवलोकन गर्नुभएको छ ।